गठबन्धन फेरिँदा धनुषामा पूर्व मन्त्री र निवर्तमान सांसदले पाएनन् टिकट
गठबन्धनमा लोसपाको प्रवेशले झा र जसपाको प्रवेशले कमल 'आउट'
जनकपुरधाम । चुनावी तालमेलले गर्दा धनुषाका दुई दिग्गज नेता उम्मेदवार हुनबाट वञ्चित भएका छन् । सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश गरेपछि धनुषाका नेकपा एकीकृत समाजवादी पार्टीबाट रामचन्द्र झा र एमाले तथा जसपाबीचको तालमेलले एमालेका किशोरी साह कमलले टिकट पाउन नसकेका हुन् ।
झा पूर्व मन्त्री हुन् भने कमल प्रदेश सभा सदस्य हुन् । झाले चुनाव धनुषा क्षेत्र नम्बर २ बाट र कमलले प्रदेश सभा सदस्य तर्फ क्षेत्र नम्बर १ (क) बाट चुनाव लड्ने तयारीमा थिए । सत्ता गठबन्धनको चुनावी तालमेलमा क्षेत्र नम्बर २ कांग्रेसको कोटामा गएपछि झा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने मानसिकता बनाएका थिए । तर सो क्षेत्र पनि लोसपाको प्रवेशसँगै झाको हातबाट टिकट गुमेको छ ।
सत्ता गठबन्धनको अहिलेसम्मको चुनावी तालमेल अनुसार धनुषा क्षेत्र नम्बर ३ बाट लोसपाका राजेन्द्र महतोले चुनाव लड्नेछन् भने क्षेत्र नम्बर २ बाट कांग्रेसका रामकृष्ण यादवले चुनावी प्रतिष्पर्धामा भाग लिने तय भइसकेकाे छ । धनुषाका अन्य क्षेत्र क्षेत्र नम्बर १ माओवादी र ४ कांग्रेसले नै पाएको हुनाले यी क्षेत्रहरुमा पनि झा समावेश हुने सम्भावना देखिदैन ।
लोसपा गठबन्धनमा नआएसम्म गठबन्धनले धनुषा ३ मा मजबुत उम्मेदवार खोजीमा रहेको सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट पूर्व मन्त्री समेत रहेका झालाई लडाउने तयारी गरेको थियो । महतो धनुषा ३ बाट नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिलाई पराजित गदै २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा पुगेक थिए । आउँदो निर्वाचनमा निधिले समानुपातिक राेजेपछि सो क्षेत्र कांग्रेसको हातबाट गुमेको छ । यता एमाले जसपाको गठबन्धनले क्षेत्र नम्बर १ (क) को जसपाको कोटामा गएपछि कमलले टिकट पाउने सम्भावना गुमेको छ । उनले अब टिकट नपाउने भएपछि स्वतन्त्रबाटै उम्मेदवारी दिने निर्णय गरेका छन् ।
उनले भने 'पार्टीले टिकट दिन्छ भने पर्खाईमा बसेका थिए । तर चुनावी तालमेलमा आफू समावेश हुन नसकेपछि स्वतन्त्रबाटै उम्मेदवारी दिनेछु ।' कुनै पनि क्षेत्रबाट टिकेट पाउन नसकेका नेता झा यसअघि नेकपा एमालेबाट २०५१ सालमा प्रतिनिधि सभाको निर्वाचनमा पहिलो पटक निर्वाचित भएका थिए । त्यसपछि २०६४ सालको संविधानसभाको चुनावमा समेत नेकपा एमालेबाट नै निर्वाचित भएका थिए । संविधान सभामा निर्वाचित भएपछि २०६५ सालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को नेतृत्वमा बनेको सरकारमा स्थानीय विकास मन्त्री समेत बनेका थिए ।
२०७० सालको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट चुनाव लडे पनि कांग्रेसका रामकृष्ण यादवसँग पराजित भएका थिए । २०७४ सालको चुनावमा फेरि माओवादीबाट चुनाव लडेपछि तात्कालिन जसपाका उमाशंकर अरगरियासँग पराजित भएका थिए । नेकपा एमालेबाट राजनीति गरेका झा एमालेको धनुषा जिल्ला सचिव हुँदै केन्द्रीय समितिमा पटक–पटक निर्वाचित हुँदै पोलिटब्युरो सदस्य समेत भएका थिए । २०४६ सालको जनआन्दोलन र २०६२-६३ सालको जनआन्दोलनको पनि एमालेबाट धनुषामा उनले अगुवाइ गरेका थिए । धनुषासहित मधेशका विभिन्न जिल्लामा कम्युनिस्टको संगठन बनाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । पछि एमाले परित्याग गर्दै माओवादी, नयाँ शक्ति, फेरि माओवादी हुँदै अहिले उनी एकीकृत समाजवादीको सचिवालय सदस्य हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया