काठमाडौँ– ९ बाट प्रतिस्पर्धामा उत्रँदै मिलन पाण्डे
फाइल फोटो
काठमाडौंँ– विवेकशील अभियानका तर्फबाट काठमाडौँ–९ प्रतिनिधि सभा सदस्यमा मिलन पाण्डेले उम्मेदवारी दिने भएका छन् । उनले संसदबाटै शिक्षा, स्वास्थ्य, युवा रोजगारीका निम्ति आवाज उठाउने योजनासहित उम्मेदवारी दिन लागेको उल्लेख गरेका छन् ।
३३ वर्षीय पाण्डे सिभिल इन्जिनियर हुन् । काठमाडौँ महानगर–२१ बासी पाण्डे २०७४ पनि यही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार बनेका थिए र करिब ५ हजार मत पाएका थिए । उनी २०७० मा विवेकशील नेपाली संस्थापक सदस्य हुँदै वैकल्पिक राजनीतिमा प्रवेश गरेका थिए । विवेकशील नेपालीको प्रवक्ता र २०७६ सालमा विवेकशील नेपालीको अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि २०७७ सालमा विवेकशील साझा पार्टीको संयोजक बनेका थिए ।
विवेकशील अभियानमार्फत सामाजिक, आर्थिक र भ्रष्टाचारविरुद्ध अभियानमा संलग्न पाण्डे, नेपाल खुल्ला छ, संविधान कहिले ?, डाक्टर गोविन्द केसीको स्वास्थ्य सुधार अभियान, न्यायपालिका सुधार अभियान, युवालाई राजनीतिमा आकर्षण जगाउने अभियान लगायत करिब दुई दर्जन अभियानमा संलग्न रहे ।
उनको उम्मेदवारीबारे उनकै शब्दमा,
'२०७४ सालको निर्वाचनमा म पहिलोपल्ट काठमाडौँ–९ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेको थिए । करिब पाँच हजार मत दिँदै ‘५ वर्ष पर्ख, काम गर, अनि फेरि आऊ’ भनेर मौन सन्देश दिनु भएको थियो । मैले ५ वर्ष निरन्तर विभिन्न राजनीतिक, सामाजिक र दलगत कामहरू गरेँ । क्षेत्र नं ९ मै पनि कोरोनाको बखतमा होस् वा अन्य बेलामा हामीले सक्दो गर्यौँ । शिक्षक तालिममा पनि हामीले काम गर्यौँ ।
एक जना सहकर्मीले राजावादी धार लिएपछि पार्टी चरम वैचारिक विचलनमा फस्यो । यहीबीच हामीले गणतन्त्रको पक्षमा उभिँदा हामीले नै बनाएको पार्टीबाट हामीलाई नै निकाल्ने काम भयो । आज पार्टीविहीन अवस्थामा म यो रूपमा क्षेत्र न ९ मा जान बाध्य छु । म एउटा वैचारिक धारको र सांगठानिक धारको नेतृत्व गर्छु, त्यसैले म स्वतन्त्र उठ्न सकिरहेको छैन । त्यसैले, पार्टीमा चरम विवाद हुँदा २० वर्षे एक युवाले वैकल्पिक राजनीतिको मर्मलाई जोगाउन खडा गरेको साझा पार्टी, नेपाल (चुनाव चिन्ह– पाइला) बाट आफ्नो उम्मेदवारी दिँदै छु ।
विवेकशील अभियानले विगत १० वर्षमा निकै राम्रा कामहरू गर्यो । नेपाल खुल्ला छ, भूकम्पमा गरेका कामहरू, सम्पदा संरक्षणमा निभाएको भूमिका, शिक्षा–स्वास्थ्य सुधारमा गरिएका अभियान, उद्यमशीलता प्रवर्द्धनमा गरेका कामहरू, युवा र महिलालाई राजनीतिमा स्थापित गर्न लिएका अग्रसरता लगायत कामहरू यो अभियानका सफलता हुन् । विवेकशील र साझाको फुट र पछिल्लो समय आएको वैचारिक विचलन हाम्रो सांगठानिक कमजोरीहरू हुन् ।
हामी विगत १० वर्षमा ७० प्रतिशत कुरामा सफल रह्यौँ । अनि, ३० % कुरामा असफल । यही सिकाइबाट थप परिपक्व बन्दै हामी आगामी दिनमा वैकल्पिक राजनीतिलाई थप अगाडी लैजाने छौँ ।
हाम्रा मुद्दा हामी यो संविधानलाई फेल बनाएर देशमा फेरी द्वन्द्व सिर्जना गर्ने कामलाई परास्त गर्न चाहन्छौँ । त्यसैले अबको राजनीति यही संविधानलाई सुधार गर्दै नागरिकको अवस्था परिवर्तन गर्न अग्रसर हुन जरुरी छ । हाम्रो मुद्दा शिक्षा, स्वास्थ्य, रोजगारी÷उद्यमशीलता, सुशासन, संस्कृति सम्पदाको संरक्षण हुन् । हामीले शिक्षकको, विद्यार्थीको, युवाको, महिला/गृहिणीको मुद्दामा काम गर्दै आइरहेका छौँ र हाम्रो यो निर्वाचनको मुद्दा पनि सोही व्यक्तिहरूलाई लक्षित हुने गरी प्रस्तुत हुनेछन् । स्पष्ट एजेन्डा छिट्टै सार्वजनिक गर्ने छौँ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै निर्माण भएको वर्तमान संविधान जारी भएपछिको पहिलो आमनिर्वाचनमा अघिल्लो चोटि काठमाडौं–९ मा प्रतिनिधि सभा सदस्य पदमा म उम्मेदवार भएको थिएँ । उक्त निर्वाचनमा, यही क्षेत्रमा जन्मे हुर्केको एउटा नौलो राजनीतिक अभियानबाट राजनीतिमा आएको नवयुवकलाई अगाध स्नेह दिनुभएको थियो । करिब ५ हजार मतसँगै मलाई सन्देश दिनुभएको थियो, ‘बाबु, यो पल्ट प्रयास गर्यौ । ५ वर्ष पछि अझ परिपक्व भएर आउनु अर्को पल्ट तिमीलाई पक्का जिताउनेछौँ ।’ यही सन्देशलाई शिरोधार्य गर्दै म काठमाडौं–९ बाट प्रतिनिधि सभा सदस्य पदका लागि यो पटक उम्मेदवारी मनोनयन गर्दै छु ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया