राजनीति

सदनमा अपराधीको संख्या घटाउन मेरो उम्मेदवारीः रमेश खरेल

इकागज |
असोज २३, २०७९ आइतबार १७:२० बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दर्ता गरेका रमेश खरेलले हालसम्म सदनमा कानुन बनाउने मानिस नगई कानुन भत्काउने मानिसहरू गइरहेको टिप्पणी गरेका छन्।

उनले सदनको प्रतिष्ठा बढाउनका लागि कानुन बनाउने मानिस सदनमा पठाउनुपर्ने बताए। उनले सदनमा संगठित अपराधीको संख्या घटाउन आफ्नो उम्मेदवारी परेको बताए।


 उनले भने, ‘सदनको मर्यादा बढाउनुपर्ने हुन्छ। ३३ वर्षसम्म यहाँ कानुन निर्माता कोही पनि हुनुभएन। सदनको प्रतिष्ठा र सम्मान बढाउन र सदनमा संगठित अपराधीको संख्या घटाउन मेरो उम्मेदवारी हो।’ उनले काठमाडौं क्षेत्र-१ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन्।

उनले आफ्नो प्रतिष्पर्धी वजनदार नभएको दाबी गरे । उनले थपे,’ राम्रा मान्छे भए त वजनदार हुन्थे । अझ को-को हुनुहुन्छ आज मैले हेर्न बाँकी छ । त्यसपछि प्रतिक्रिया दिउँला । इमान्दारीसाथ भन्नुपर्दा वजनदार कोही पनि देखेको छैन ।‘

खरेलले १ नम्बर क्षेत्रलाई देशको नम्बर वान क्षेत्र रहेको बताए । ‘७७ जिल्लाका दाजुभाइ तथा दिदीबहिनीहरू माइग्रेटेड भएर बसेको ठाउँ हो,’ उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै भने,’ तुलनात्मक हिसाबले अलिकति पढेलेखेका मानिसहरू बसोबास गरेको ठाउँ हो ।‘ बुझेको र समृद्ध मानिसहरूको बसोबास भएकाले मतदाताहरूले विवेक प्रयोग गर्ने खरेलले दाबी गरे ।

१ नम्बर निर्वाचन क्षेत्रमा ०७४ सालको निर्वाचनका कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका थिए । अहिले पनि नेता सिंहसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र एमालेको तर्फबाट किरण पौडेल पनि चुनावी मैदानमा छन् ।

 


Author

थप समाचार
x