हुम्लाको मनोनयन काठमाडौंमै दर्ता
काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हुम्ला जिल्लाका उम्मेदवारहरुले काठमाडौंबाट नै मनोनयन दर्ता गराएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आईतवार मनोनयन दर्ता गर्ने समय दिइएको छ । विगत हप्ता दिनदेखि परेको वर्षाका कारण दुर्गम हिमाली जिल्लाहरुमा हिमपात भइरहेकोले प्लेन जान नसक्दा हुम्ला जिल्लाका उम्मेदवारहरुले भने निर्वाचन आयोगमा उपस्थित भएर मनोनयन पत्र दर्ता गराएका हुन् ।
नेकपा (एमाले) को तर्फबाट हुम्ला जिल्लामा प्रतिनिधि सभाका उम्मेदवार दल रावलले मौसम खराबीका कारण जिल्लामा जान नसकेका कारण पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र निर्वाचन आयोगमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा पठाएको बताए । आफ्नो पार्टीको प्रतिनिधि सभा र प्रदेश सभामा पनि निर्वाचन आयोगमार्फत नै मनोनयन दर्ता गराएको उनले जानकारी दिए ।
सत्तारुढ गठबन्धनका उम्मेदवारले पनि काठमाडौंबाट नै मनोनयन दर्ता गराएक छन् । नेता रावलले आफू सांसद निर्वाचित भएमा हुम्ला जिल्लाको सडक समस्या समाधान गर्न पहल गर्ने बताए । ‘मौसम खराबीका कारण हेलिकप्टर, प्लेन जान सकेन । पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र हामीले निर्वाचन कार्यालयमा पठाएका छौँ ।’ उनले भने, ‘गठबन्धनका साथीहरुले पनि यही गर्यौँ । दुवै प्रदेशको पनि गर्यौँ । यो दुखद् बाध्यताको अन्त्य गर्न मेरो पहिलो एजेण्डा अब के हुन्छ भने सुर्खेतदेखि हिल्सा टु लेनको फास्टट्रयाक सडक ४०३ किलोमिटर छ ।’
त्यस्तै हुम्ला जिल्ला प्रदेश सभा ख मा एमालेको तर्फबाट उम्मेदवार छक्कबहादुर लामाले पनि जिल्लामा हिमपातका कारण जान सम्भव नभएपछि काठमाडौंबाटै मनोनयन दर्ता गर्नुपरेको बताए । ‘हिमपात छ । बाटोघाटो छैन । प्लेन पनि उडिरहेको छैन । एक हप्ता भन्दा बढी भइसक्यो । त्यसैले हामी यहीँबाट पार्टी टिकट र वारेसनामा पठाउन खोजेको ।’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया