निर्वाचन आयोगले भन्योः उम्मेदवारको विरोधमा आज ३ बजेसम्म उजुरी दिन सकिने
काठमाडौँ- मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलले आफ्नो उम्मेदवारको मनोनयनपत्र दर्ता गराइसकेका छन् । निर्वाचन आयोगले आइतबार दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै दाबी विरोध भएमा उजुरी दिन आग्रह गरेको छ ।
पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २ हजार ४५२ जनाको उम्मेदवारी परेको जनाएको छ । यस्तै, प्रदेशसभा सदस्यका लागि ३ हजार ३२६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
आयोगले आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म भएको मनोनयनपत्र दर्ताका लागि समय दिएको थियो । यस अवधिमा दर्ता भएकामध्ये आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा प्रतिनिधिसभाअन्तर्गत देशभर २ हजार २२३ पुरुष र २२९ महिला गरी कूल २ हजार ४५२ जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
प्रदेशसभातर्फ ३ हजार ३९ जना पुरुष, २८६ जना महिला र १ जना अन्य गरी जम्मा ३ हजार ३२६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारहरूले सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आइतबार मनोनयनपत्र दर्ता गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया