मकवानपुरमा ६९ जनाको उम्मेदवारी दर्ता
मकवानपुर - आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि मकवानपुरबाट कुल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको मकवानपुरमा प्रत्यक्षतर्फ महिलाको उपस्थिति भने न्युन छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ प्रतिनिधि सभामा मकवानपुरबाट एक जनामात्रै महिलाको उम्मेदवारी रहेको छ । प्रतिनिधि सभामा मकवानपुर-१ बाट नेपाली काँग्रेस नेतृ महालक्ष्मी उपाध्याय डिनाको उम्मेदवारी रहेको हो । उनी सत्ताधारी गठबन्धनको साझा उम्मेदवार हुन् ।
यसैगरी प्रदेश सभातर्फ भने ६ जना महिलाको उम्मेदवारी परेको छ । जसमा कुमारी मोक्तान १ जनामात्रै राजनीतिक दलबाट उम्मेदवार बनेकी हुन् भने अन्य ५ जना स्वतन्त्र उम्मेदवार हुन् ।
मकवानपुरको प्रतिनिधि सभा २ को प्रदेश सभा ख मा लक्ष्मी गुरुङ, निर्मला गौतमले नेपाली काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । कमला गौतम र लक्ष्मी अधिकारी लामिछानेले पनि प्रदेश सभा २ को ख तर्फ स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
यसैगरी प्रतिनिधि सभा २ को प्रदेश सभा ख बाट चुनावी मैदानमा आउने गरी शान्ति दाहालले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार मकवानपुर जिल्लामा प्रतिनिधि सभातर्फ क्षेत्र १ मा २ स्वतन्त्र समेत गरी १६ जनाले उम्मेदवारी दिएका छन् । भने प्रतिनिधि सभाको क्षेत्र २ मा १ स्वतन्त्र समेत गरी १० जनाको उम्मेदवारी परेको छ ।
यता प्रदेश सभातर्फ भने ४ क्षेत्रमा ४३ जनाको उम्मेदवारी परेको छ । जसमा १४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । प्रदेश सभा १ को क मा ३ जना, ख मा ६ जना तथा प्रदेश सभा २ को क मा २ जना र ख मा ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
निर्वाचनमा हारजितलाई सहज बनाउनको लागि गरिएको गठबन्धनको कारण महिला उम्मेदवार कम भएको विश्लेषण गरिए पनि यस पटक गठबन्धनबाटै २ जना महिलाहरू प्रत्यक्षमा उम्मेदवार बने तर, गठबन्धनसँग प्रतिष्पर्धामा उत्रेका अन्य दलहरूले भने महिलालाई उम्मेदवार बनाएनन् ।
महिलाको सिट सुरक्षित गर्नको लागि आफू प्रत्यक्षमा आएको नेपाली काँग्रेस नेतृ महालक्ष्मी उपाध्यायले बताइन् । यसैगरी प्रत्यक्षतर्फ तेस्रो लिङीसमुदायबाट पनि उम्मेदवारी शून्य रहेको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया