प्रतिनिधि र प्रदेश सभामा कूल पाँच हजार ९४८ जनाको उम्मेदवारी दर्ता
काठमाडौँ - प्रतिनिधि सभामा कूल २५०२ जनाले उम्मेदवारी दिएका छन् । हालसम्म प्राप्त विवरणअनुसार प्रतिनिधि सभामा २२६९ जना पुरुष र २३३ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभातर्फ ३४४६ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार ३१३९ पुरुष र २९६ महिला र एक जना अन्य गरी ३४४६ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।
आयोगले आइतबार उम्मेदवारी दर्ता गर्न बिहान १० बजेदेखि ५ बजेसम्मको समय उपलब्ध गराएको थियो । सात वटा प्रदेश सभामध्ये सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा छन् । यस्तै सबैभन्दा कम उम्मेदवार कर्णाली प्रदेशमा छन् ।
आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेश सभा निर्वाचन हुँदैछ । यसअघि विसं २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा निर्वाचन भएको थियो ।
यसपटकको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा भाग लिन अनुमति प्राप्त राजनीतिक दलको सङ्ख्या ८६ र समानुपातिकतर्फ ४८ रहेको छ । मुलुकका एक सय ६५ प्रतिनिसभा सदस्य र तीन सय ३० प्रदेशसभा सदस्यका लागि यो निर्वाचन हुन लागेको हो ।
आगामी निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन् । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया