राजनीति

कमरेड बाबुराम...

इकागज |
असोज २४, २०७९ सोमबार १२:४६ बजे

काठमाडौँ - मनोनयनको केही दिन अघिसम्म पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चितवनबाटै चुनाव लड्ने तय थियो । मनोनयन गर्ने दिन नजिकिँदै जाँदा प्रचण्डको निर्वाचन क्षेत्र फेरियो । उनले गोरखाबाट उम्मेदवारी दर्ता गरे । आइतबार गोरखा २बाट उनले उम्मेदवारी दर्ता गराएका छन् । 

मनोनयन दर्ता गर्न जाँदा पनि उनी नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको बिचमा देखिए । अर्थात् डा. भट्टराई र नारायणकाजीलाई साथ लिएर उनले मनोनयन दर्ता गरे । 


गोरखा नेसपा अध्यक्ष भट्टराई र वरिष्ठ उपाध्यक्ष श्रेष्ठको गृहजिल्ला हो । २०७४ को निर्वाचनमा नेता श्रेष्ठ र भट्टराई चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । कांग्रेसको सहयोगमा पूर्वप्रधानमन्त्री भट्टराईले चुनाव जितेका थिए । यसपालि भट्टराई चुनावमा उठेनन् । प्रचण्डलाई ठाउँ खाली गरिदिए । 

संविधान जारी भएपछि माओवादी परित्याग गरेका भट्टराई एक दशक नपुग्दै पुन: माओवादीमै फर्किने तयारी गरेका छन् । यद्यपि आधिकारिक एकता घोषणा हुन भने बाँकी छ । 

उनी फेरि कमरेड हुने बाटोमा छन् । लक्ष्मीबजारमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले भट्टराईलाई कमरेड भनेर सम्बोधन गरे । बोल्दाबोल्दै कमरेड बाबुराम भनेर चिप्लिएका प्रचण्डले सच्याउन खोजे पनि स्वयं बाबुरामको साथ पाएपछि फेरि कमरेड भनेर सम्बोधन गरे । 

'आज म खुसी किन छु भने कमरेड बाबुराम भट्टराई...' 

प्रचण्ड एकछिन अल्मिलिए र रोकिए, 

'कमरेड बाबुराम अझै भन्ने बेला त भइसकेको छैन ।' 

बाबुरामले समर्थन जनाएपछि, प्रचण्ड फेरि हौसिए, 

'तर मैले आजदेखि भनेँ ।'

हासो र ताली बज्यो । 

'हामी फेरि एकताबद्ध हुने प्रक्रियामा छौँ । गोरखाबाट नै त्यो एकता प्रक्रिया घोषणा गर्ने मौका मिल्यो,' उनले भने, 'यो धेरै खुसीको कुरा हो । आजको दिनबाट नेपालमा अर्को क्रान्ति, आर्थिक क्रान्ति सुरुवातको दिन हुनेछ । यही टिमले गर्नेछ ।'


Author

थप समाचार
x