राजनीति

कमल थापालाई सूर्य चिह्न दिएकोप्रति भीम रावलको आपत्ति

इकागज |
असोज २४, २०७९ सोमबार २१:४३ बजे

काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिह्न दिएकोप्रति आपत्ति जनाएका छन् । मकवानपुर–१ का उम्मेदवार थापाले नेकपा एमालेको सूर्य चुनाव चिह्नबाट उम्मेदवार भएपछि रावलले ‘अनैतिकताको नमूना’ भन्दै आपत्ति जनाएका हुन ।

उनले एमालेसँग चुनावी गठबन्धन गरेको जनता समाजवादी पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहिरहेको विषयलाई पनि ‘अनैतिक’ भनेका छन् । 


‘कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्ने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसँग  गर्ने ?,’  रावलले भनेका छन्, ‘निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने। यस्तैलाई एमालेले बोक्ने ! के हुन लाग्यो !’ 

आफनो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट सिफारिस भए पनि केन्द्रले टिकट नदिएको विषयमा उचित समयमा बोल्ने जनाएका रावलले थापालाई दिएको सूर्य चिन्ह र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा नै रहिरहेको विषयलाई सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन् । 


Author

थप समाचार
x