राजनीति

धनुषामा क्षेत्र नम्बर–३ बाहेक सबैमा पुरुष उम्मेदवार

सुभाष कर्ण |
असोज २६, २०७९ बुधबार ७:१० बजे

जनकपुरधाम - आगामी मंसिर ४ हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि धनुषामा पुरुष उम्मेदवारकै वर्चश्व देखिएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि धनुषाको क्षेत्र नम्बर ३ बाहेक सबै क्षेत्रमा पुरुष उम्मेदवार मात्रै देखिएका छन् ।

धनुषामा प्रतिनिधि सभा सदस्यका लागि कूल १०३ जनाले उम्मेदवारी दिँदा ६६ जना स्वतन्त्र उम्मेदवारहरू रहेकोमा क्षेत्र नम्बर ३ मा ६ जना महिला उम्मेदवार छन् भने अन्य क्षेत्रमा महिलाको संख्या शून्य छ । प्रदेश सभाका लागि १३८ जनाले उम्मेदवारीमा महिलाको संख्या १० जना मात्र छ ।


संविधानको धारा ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ । तर, निर्वाचनमा भने त्यसो हुन सकिरहेको देखिदैन । संविधान, ऐन र कानुनले व्याख्या गरेको कुरालाई दलहरूले गरेको बेवास्ताका कारण महिला उम्मेदवारको खडेरी देखिएको छ ।

प्रतिनिधि सभातर्फ धनुषाको चारवटै निर्वाचन क्षेत्रमा १ सय ३ जनाले उम्मेदवारी दर्ता गराएकोमा धनुषा–३ मात्र ६ महिलाले उम्मेदवारी दर्ता गराएको छ । प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ १३८ जनाले उम्मेदवारी दर्ता गराउँदा महिलाको संख्या १० मात्र रहेको छ ।

प्रतिनिधि सभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर–१ मा २५ जनाको उम्मेदवारी परेको जसमा विभिन्न गठबन्धनसहित १७ जना स्वतन्त्र उम्मेदवारहरू छन् भने महिला उम्मेदवारको संख्या शून्य रहेको छ । प्रदेश सभातर्फ धनुषा–१ को (क) र (ख) दुवैमा १४÷१४ जना गरी २८ जनाको उम्मेदवारीमा एक जनापनि महिला छैन ।

धनुषा २ मा प्रतिनिधि सभातर्फ १६ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये ८ जना स्वतन्त्र उम्मेदवारहरू छन् । सो क्षेत्रमा पनि गठबन्धन दल वा स्वतन्त्र समेतबाट महिलाको उम्मेदवारी परेको छ । सो क्षेत्रको प्रदेश सभातर्फ २ (क) मा १४ र २ (ख) मा १७ जनाले दिएको उम्मेदवारी पनि महिलाको उम्मेदवारी परेको छैन ।

प्रदेशका राजधानी समेत रहेका प्रमुख क्षेत्र मानिएका क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ कुल ३१ उम्मेदवारी परेको छ । जसमा स्वतन्त्रका २१ सहित पुरुषको २५ र महिलाको ६ संख्या रहेको छ ।

सो क्षेत्रमा महिलातर्फ नेकपा एमाले र जसपाबीचको गठबन्धनबाट एमाले नेतृ जुलीकुमारी महतो, नेपाल जनता पार्टीबाट पूनम चौधरी र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालको तर्फबाट प्रविणा कुमारी ठाकुरले उम्मेदवारी दिएकी छन् । स्वतन्त्रतर्फ ज्योति कुमारी साह, पूजा साह र मिलन कुमारी साहले पनि उम्मेदवारी दिएकी हुन् ।

सो क्षेत्रको प्रदेश सभातर्फ धनुषा ३ (क) मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये ११ जना स्वतन्त्र मध्ये पूनम देवी दास तत्माले माहिला महिलातर्फ उम्मेदवारी दिएकी छिन् । धनुषा ३ (ख) मा प्रदेश सभा सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएकोमा ११ जना स्वतन्त्र उम्मेदवार छन जसमध्ये ५ महिला छन् ।

प्रदेश सभा सदस्यका लागि किरण देवी साह, पवन देवी साह, बबिता कुमारी, मिनाक्षी पाण्डे र सिता कुमारीले उम्मेदवारी दिएकी छन् ।

त्यस्तै, प्रतिनिधि सभातर्फ धनुषा ४ मा पनि ३१ जनाले उम्मेदवारी दिएका छन् । यी मध्ये २० जना स्वतन्त्र उम्मेदवार नै छन् । 

प्रदेश सभातर्फ धनुषा ४ (क) मा ८ जना स्वतन्त्रसहित १९ जनाले उम्मेदवारी दिएकामध्ये नेपाल लोकतान्त्रिक पार्टीबाट आशा देवी साह, जनमत पार्टीबाट मिथलेश देवी साह र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मिरा कुमारी यादव सहितका तीन जना महिला उम्मेदवार छन् ।

यस क्षेत्र ख मा ६ जना स्वतन्त्रसहित १३ जना उम्मेदवारमध्ये जनता प्रगतिशिल पार्टी नेपालको तर्फबाट शोभा कार्की एकमात्र महिला उम्मेदवार छन् ।

आगामी निर्वाचनका लागि धनुषामा ४ लाख ९ हजार ९८५ मतदाता कायम भएका छन् । जसमध्ये महिला १ लाख ९३ हजार १०४ र पुरुष २ लाख १६ हजार ८७५ जना रहेका छन् भने अन्य ६ जना छन् ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x