लुम्बिनी सरकारमा सहभागी भएका सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण
बुटवल : जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा आफ्ना चार जना सांसदलाई स्पष्टीकरण सोधेको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मन्त्री बनेर शपथ ग्रहण गरेपछि जसपाले स्पष्टीकरण सोधेको हो ।
जसपाका लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक कुमार यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारबाट फर्किन निर्देशन गर्दै २४ घण्टे स्पष्टीकरण सोध्ने र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआउँदासम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको व्यहोरो जानकारी गराइन्छ ।’ विज्ञप्तिमा चित्तबुझ्दो जवाफ नआए सांसद पद नरहने गरी कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध हस्ताक्षर गरेर उनकै मन्त्रिपरिषद्मा जान सन्तोष भौतिक पूर्वाधार, विजय भूमि व्यवस्था तथा कृषि, कल्पना शिक्षा तथा सामाजिक विकास मन्त्रालयको सपथ लिए। रायमाझी भने राज्यमन्त्री बने ।
सोमबार माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै मन्त्री पदबाट राजीनामा दिएका थिए। आजै दिउँसो कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदको हस्ताक्षरसहित प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया