निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिँदै राजनीतिक दल
काठमाडौँ- प्रमुख राजनीतिक दलले काठमाडौँ उपत्यकाका विभिन्न निर्वाचन क्षेत्रमा आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
काठमाडौँ उपत्यकामा प्रतिनिधि सभातर्फ १५ निर्वाचन क्षेत्र छन् । यस्तै प्रदेश सभातर्फ ३० निर्वाचन क्षेत्र छन् । सत्तारुढ गठबन्धन र विपक्षी गठबन्धनले आआफ्नै शैलीमा चुनावी अभियानलाई तीव्र पारेका हुन् ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रमा राखेर दलले मतदातासँग मत माग्नेदेखि, उम्मेदवार परिचय तथा कार्यकर्ता परिचालन सुरु गरेका छन् । प्रतिनिधि सभातर्फ काठमाडौँ क्षेत्र नं २ मा आज वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार परिचयको कार्यक्रम आयोजना गरियो ।
सत्तारुढ गठबन्धनका उम्मेदवारको परिचय तथा निर्वाचन क्षेत्र केन्द्रित योजनाका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी) सँग आबद्ध नेता तथा कार्यकर्ताले संविधानको रक्षाका खातिर भएको गठबन्धनले नै देश र जनताको हित गर्ने धारणा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद दिपक कुइँकेलले लोकतन्त्र, संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि पनि गठबन्धन नै सही भएको र नेपाली जनताले विजयी गराउने बताए ।
सो क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट पूर्वसभामुख ओनसरी घर्ती उम्मेदवार छिन् । कार्यक्रममा उम्मेदवार घर्तीले संविधानसभाबाट संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेकपा(एमाले)का महासचिव माधवकुमार नेपालको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै सोही जगमा वर्तमान गठबन्धन तयार भएको बताए ।
वाम लोकतान्त्रिक गठबन्धन रामेछापले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई संविधानसम्मत बाटोमा हिँडाउने काम वर्तमान सत्तारुढ गठबन्धनले गरेको बताए । उनले संविधान विरोधी तत्वलाई पराजित गर्नका लागि पनि वाम लोकतान्त्रिक गठबन्धनको विजय जरुरी रहेको धारणा राखे ।
रामेछापमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसका पूर्णबहादुर तामाङ प्रतिनिधि सभातर्फ उम्मेदवार हुन् भने प्रदेशसभातर्फ माओवादीका तारानारायण श्रेष्ठ र युवराज चौलागाईं उम्मेदवार हुन् । नेकपा(एमाले)का तर्फबाट प्रतिनिधिसभामा कैलाश ढुङ्गेल र प्रदेशमा शान्ति पौडेल र मिलन घिसिङ उम्मेदवार छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया