उम्मेदवारले आफू राम्रो र अरु नराम्रो भनेर प्रचारप्रसार गर्न पाइँदैनः आयुक्त भण्डारी
काठमाडौँ - निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न उम्मेदवारलाई आग्रह गरेको छ । उम्मेदवारहरूले चुनाव प्रचारप्रसार गरिरहेको उजुरी परेसँगै आयोगले आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको हो।
आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडिदेखि (कार्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले बताए । उम्मेदवारहरूले घरदैलो कार्यक्रम गर्न पाउने भए पनि २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पालना गर्न सचेत गराए ।
घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरेका हुन् । घरदैलोमा तामझाम र बाजागाजा गर्नु पनि आचारसंहिताविपरीत हुने उनको भनाइ छ ।
आचारसंहिताको परिधिभित्र बसेर कानूनी सजाय नपाउनेगरी घरदैलो गर्न उनले उम्मेदवारहरूलाई आग्रह गरे ।
उनले उम्मेदवारहरूले आफू राम्रो र अरु नराम्रो भनि प्रचारप्रसार गर्न नपाइने उल्लेख गरे । उम्मेदवारहरूलाई आफ्नो घोषणापत्र अनुरुप र आफूले गर्ने कामहरूको मात्रै प्रचारप्रसार गर्न उनको सुझाव छ ।
अरु दल र स्वतन्त्र उम्मेदवारहरू नराम्रो भनि प्रचार गर्न नपाइने उनले उल्लेख गरे । आयुक्त भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लंघन भएमा आयोगले उम्मेदवारको मनोनयनपत्र खारेजसम्म गर्नसक्ने बताए । ‘फलानो नराम्रो आफू राम्रो भनेर उहाँहरू प्रचारप्रसारमा जानुभएको छ । आफू राम्रो अर्को उम्मेदवार नराम्रो भन्न पाइँदैन,' उनले भने, 'आफू राम्रो मात्रै भनेर जानुस् न । म यो नीति तथा कार्यक्रम गरेर जान्छु । म यो विकास निर्माणको काम गर्छु भनेर आफ्नो घोषणापत्रमा जे उल्लेख गर्ने हो । मेरो घोषणापत्र ठिक, अर्काको बेठिक भन्न पाइँदैन । कानूनको परिधिभित्र बसेर निर्वाचन प्रचारप्रसार गरिदिनुपर्यो । आचारसंहिता उल्लंघन गरिदिनु भयो भने आयोगले कठोरतापूर्वक कारबाही गर्नुपर्छ । उहाँहरूको मनोनयनपत्र खारेज पनि हुनसक्छ ।’
आयुक्त भण्डारीले आयोगले हालसम्म दर्जनौँ उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिए। स्पष्टीकरण चित्तबुझ्दो नभएमा थप कानूनी कारबाही अगाडि बढाइने र आचारसंहिता पालना गराउने सन्दर्भमा आयोग निर्मम र निर्दयी भएर अघि बढ्ने स्पष्ट पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया