आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न हात नकमाउनूस्ः आयुक्त भण्डारी
काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।
सोमबार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघन गरेको पाइए तत्काल कारबाही गर्न निर्देशन दिएका हुन् । केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहिता उल्लंघनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कञ्जुस्याई नगर्न पनि आग्रह गरे ।
उनले मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा उनको क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्नसक्ने पनि स्पष्ट पारे । उनले आचारसंहिता तर्जुमा गर्दा प्रमुख जिल्ला अधिकारीहरूको भूमिकालाई स्पष्ट रुपमा उल्लेख गरिएको बताए ।
आयुक्त भण्डारीले घरदैलो कार्यक्रममा दलहरूले आचारसंहिता उल्लंघन गरेको उजुरीहरू आएको तर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न पनि निर्देशन दिए । आचारसंहिता पालना भए/नभएमा कठोरतापूर्वक कारबाही गर्नुपर्ने उनले बताए ।
आयुक्त भण्डारीले आचारसंहिता पालना गराउने सम्बन्धमा कानुनमा अस्पष्टता भएमा निर्वाचन आयोगमा लेखेर पठाउन पनि अनुरोध गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया