राजनीति

आठ दिनमा डेढ करोड बढी मत छापियो

इकागज |
कात्तिक ३, २०७९ बिहीबार १२:८ बजे

काठमाडौँ- निर्वाचन आयोगले ४० जिल्लाको मतपत्र छापिसकेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित प्रणालीतर्फ बुधबारसम्म ४० जिल्लाको १ करोड ५४ लाख ३४ हजार ५ सय मतपत्र छपाइ सम्पन्न गरेको निर्वाचन आयोगका सहप्रवक्ता ऋषिराम भुसालले जानकारी दिए । 

आयोग असोज २७ गतेबाट पहिलो हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुनेगरी ४ सय ९५ मतपत्र छाप्न सुरु गरेको थियो ।


आयोगले हालसम्म कर्णाली र सुदूरपश्चिमका सबै जिल्लाको मतपत्र छपाइ सम्पन्न गरेको छ। यस्तै, लुम्बिनी प्रदेशको रुपन्देही र गण्डकीको पर्वतबाहेक अन्य सबै जिल्लाको मतपत्र छापिसकिएको सहप्रवक्ता भुसालको भनाइ छ । यी दुई जिल्लाको मतपत्र आजदेखि छाप्न सुरु गरिएको पनि उनले बताए। 

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ। आजदेखि समानुपातिक तर्फको दोस्रो  चरणको मतपत्र ढुवानी थालेको छ । पहिलो चरणअन्तर्गत प्रदेश– १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ ।

यसबाहेक निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्ला जिल्लामा पठाइसकेको छ ।

 


Author

थप समाचार
x