असन्तुष्ट समूहले ब्युँतायो नेकपा मशाल, सन्तबहादुर नेपाली महासचिव चुनिए
बुटवल - राष्ट्रिय जनमोर्चाको भूमिगत मोर्चा मानिने नेपाल कम्युनिष्ट पार्टी (मसाल) बाट विभाजित समूहले नेकपा मशाल ब्युँताएको छ । मसालको असन्तुष्ट समूहको लुम्बिनीमा सम्पन्न विशेष महाधिवेशनले नेकपा मशालका रूपमा पार्टीलाई अघि बढाउने निर्णय गरेको हो ।
महाधिवेशनले सन्तबहादुर नेपाली महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको २५ पूर्ण १० वैकल्पिक गरी ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।
महाधिवेशनबारे जानकारी गराउन बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव नेपालीले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल दक्षिणपन्थी संशोधनवादी भएकाले पार्टीबाट विद्रोह गर्नुपरेको बताए ।
उनले मसालका महामन्त्री मोहनविक्रम सिंह र नेता चित्रबहादुर केसीलाई पार्टीबाट निष्कासन गरिएको दाबी गरे । नेकपा मशालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग नलिने महासचिव नेपालीले बताए ।
मशालको पार्टीको मूल संरचना भूमिगत रहने तर जिल्लास्तरका नेता खुला हुने उनले जानकारी दिए । बागलुङ, अर्घाखाँची, प्यूठानसहित ४० भन्दा बढी जिल्लामा पार्टीको संगठन बनेको दाबी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया