राजनीति

लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनै पनि हालतमा सह्य हुँदैन : बाबुराम भट्टराई

इकागज |
कात्तिक ४, २०७९ शुक्रबार ११:२३ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताएका हुन् । 

अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर गरे । उनले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरूलाई निस्तेज पार्नुको कुनै विकल्प नभएको बताए । देशमा विकास र समृद्धि, सुशासन दिन नसक्दा युवाहरूमा निराशा छाएको भन्दै शीर्ष तहले यसको उचित सम्बोधन गर्न जरुरी रहेको उनको भनाइ छ । 


अध्यक्ष भट्टराईले आगामी ५ वर्ष स्थिरता कायम गरी देश विकासका लागि खर्च गर्ने समय रहेको बताए । उनले प्रतिगमनलाई रोक्नका लागि पनि आगामी निर्वाचनमा गठबन्धनको विकल्प नभएको बताउनु भयो । उहाँले तत्काल गठबन्धनका कुनै विकल्प नरहेको बताए । 

‘विभिन्न शक्तिहरूको चलखेलको कारणले संघीय लोकतान्त्रिक गणतन्त्रलाई धराशायी पार्ने खालका कामहरू भए । प्रतिगमनलाई रोक्न हामी एक ठाउँमा आयौँ । अहिलेको निर्वाचनमा २००७ सालदेखि लडेर ल्याएको लोकतन्त्रलाई कुनै पनि हालतमा प्रतिगमनतिर हामी लैजान दिँदैनौँ,' उनले भने, 'यो निर्वाचनमा प्रतिगमनकारी शक्तिहरू विभिन्न बहानामा जुर्मुराइरहेका छन्, हिजो पराजित भएका सामन्ती शक्तिहरू विभिन्न ढंगले चलखेल गरेर यो व्यवस्था उल्ट्याउन लागेका छन् । यो अग्रगमनकारी मोर्चाले हार्नु भनेको २००७ साल देखिको लडेर ल्याएको लोकतन्त्र धरापमा पर्नु हो ।’

भट्टराईले आगामी निर्वाचन गठबन्धन दललाई कुनै पनि हालतमा जिताउनै पर्ने बताए । नेकपा एमालेप्रति लक्षित गर्दै केशरजंग रायमाझी धार बोकेका शक्तिहरूले पुराना सामन्तवादी शक्तिहरूसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुनिरहेको उनले बताए । पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र आफूले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त धार रहेको उनको दाबी छ ।
 
 


Author

थप समाचार
x