राजनीति

काठमाडौँ क्षेत्र-५ : तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा, २७ स्वतन्त्र उम्मेदवार

इकागज |
कात्तिक ४, २०७९ शुक्रबार १४:२५ बजे

काठमाडौँ- आसन्न मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ मा तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा हुने भएको छ ।

काठमाडौँ–५ स्थित संसदीय निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दलबाट २९ र स्वतन्त्रबाट २७ गरी ५६ जनाको उम्मेदवारी परेको कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिए ।


प्रवक्ता जोशीका अनुसार निर्वाचन क्षेत्र नं ५ प्रदेश सभा १ तर्फ दलगत रूपमा सात र स्वतन्त्र उम्मेदवार सात गरी १४ उम्मेदवार रहेका छन् । त्यसैगरी प्रदेश सभा दुईतर्फ दलगत उम्मेदवारी सात र स्वतन्त्र छ गरी कूल १३ जनाको उम्मेदवारी रहेको छ । प्रदेश १ मा २७ हजार पाँच सय ६७ र प्रदेश २ मा ४३ हजार तीन सय ५२ गरी यो क्षेत्रमा ७० हजार नौ सय १९ मतदाता रहेको प्रवक्ता जोशीले जानकारी दिए ।

जम्मा ३१ मतदान केन्द्र र ५० मतदान उपकेन्द्र रहेको निर्वाचन क्षेत्र नं ५ भित्रका केन्द्रमा स्थलगत अवलोकन गर्ने काम भइरहेको छ । निर्वाचन क्षेत्रभित्रका मतदान केन्द्र केकस्ता छन् भनी अवलोकन मूल्याङ्कन भइरहेको सहायक निर्वाचन अधिकृत रितबहादुर पुलामीले जानकारी दिए ।

निर्वाचन नजिकिएसँगै यस क्षेत्रभित्रका मतदानस्थल अवलोकन गर्ने कामलाई तीव्रता दिइएको छ । यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका चार, टोखा नगरपालिकाको छ र बूढानीलकण्ठ नगरपालिका पाँच गरी १५ वडा समेटिएका छन् । जसमा प्रदेश सभा १ तर्फ काठमाडौँ महानगरका वडा नं २, ४ र ५ पर्दछन् ।

प्रदेश सभा दुईतर्फ काठमाडौँ महानगरको वडा नं ३, बूढानीलकण्ठ नगरभित्रका वडा नं ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाभित्रका वडा नं २, ३, ४, ५, ६ र ७ समेटिएका छन् ।


Author

थप समाचार
x