राजनीति

बागमती प्रदेशमा नयाँ र पुराना अनुहारबीच प्रतिस्पर्धा

इकागज |
कात्तिक ५, २०७९ शनिबार १२:५८ बजे

मकवानपुर - आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशमा नयाँ र पुराना नेताबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभाअन्तर्गत १३ जिल्लाका ३३ निर्वाचन क्षेत्रमा दल र स्वतन्त्रबाट गरी ६ सयभन्दा बढीको उम्मेदवार मैदानमा छन् । 

बाग्मती प्रदेशमा यसअघि विभिन्न समयमा प्रत्यक्ष वा समानुपातिक बाटो हुँदै संसदीय अभ्यासमा आइसकेका र नयाँ अनुहारका उम्मेदवारको संख्या हाराहारी छ । बहालवाल मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे धादिङ १ मा चुनावी प्रचारमा छन् । गठबन्धनको साझा उम्मेदवार रहेका पाण्डेसँग एमालेका भूमिप्रसाद त्रिपाठी र स्ववत्त्रसहित अन्य १३ जना चुनावी मैदानमा छन् ।


नेपालकै पहिलो महिला सभामुख ओनसरी घर्ती काठमाण्डौ २ बाट निर्वाचन मैदानमा छिन् । उनीसँग प्रतिष्पर्धामा छन् नेकपा एमालेका मणिराम फूयाँल । यसैगरी पटक पटक संसदीय अभ्यासमा रहेर अनुभव समेटेका नेपाली काँग्रेसका प्रकाशमान सिंह काठमाडौं १ बाट उम्मेदवार छन् । उनीसँगको प्रतिस्पर्धामा नेकपा एमालेका किरण पौडेल छन् । विवेकशील साझा छाडेर राप्रपामा प्रवेश गरेका रविन्द्र मिश्रले पनि यही क्षेत्रबाट उम्मेदवार हुन् ।

यता काठमाडौं ४ बाट प्रतिनिधि सभाको लागि नेकपा एमालेका राजन भट्टराई मैदानमा छन् । उनीसँग प्रतिष्पर्धामा नेपाली काँग्रेसमा प्रभावशाली युवा नेता गगन थापा छन् । पटक पटक सांसद भइसकेका थापाले आफू भावी प्रधानमन्त्रीको रुपमा आउने बताउँदै आएका छन् ।

एमालेमा प्रखर वक्ताका रुपमा चिनिएका इश्वर पोखरेल काठमाडौं ५ बाट उम्मेदवार बनेपछि हाल चुनावी तयारीमा नै छन् । उनी अघिल्लो पटक यही क्षेत्रबाट सांसद बनेका थिए । पोखरेलसँगको चुनावी मैदानमा काँग्रेसका युवा नेता प्रदीप पौडेल छन् ।

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेबाट काठमाडौ ६ का उम्मेदवार बनेका छन् । यसअघि यसै क्षेत्रमा विजयी भएका नेपाली काँग्रेसका भिमसेन दास प्रधान मैदानमा छन् । यता संघीय सरकारका सामान्य प्रशासन मन्त्री बनिसकेका राजेन्द्र श्रेष्ठ र एमालेका श्यामकुमार घिमिरे काठमाडौ ७ का उम्मेदवार हुन् ।

यसै क्षेत्रमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईको पनि उम्मेदवारी रहेको छ ।

यसैगरी माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल काठमाडौ ३ बाट र एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ काठमाडौ ८ बाट उम्मेदवार छिन् । भुसालसँग एमालेका अमृत खड्का र श्रेष्ठसँग एमालेका शिवसुन्दर वैद्य मैदानमा छिन् ।

२०७४ सालमा सांसद बनेका एमाले नेता बद्री मैनाली नुवाकोट जिल्ला क्षेत्र न १ बाट माओवादी केन्द्रका हितबहादुर तामाङसँग मैदानमा छन् । यसो त नुवाकोट २ मा नेपाली काँग्रेसका अजुर्न नरसिंह केसी र नेकपा एमालेका नारायणप्रसाद खतिवडाको भिडन्त पनि रोचक नै हुने देखिएको छ ।

संघीय सरकारमा सञ्चारमन्त्रीको भूमिका निर्वाह गरिसक्नु भएका एमाले नेता गोकुल बास्कोटा काभ्रे २ बाट उम्मेदवार बनेका छन् । यसैगरी बागमती प्रदेशका पूर्वमन्त्री सरेश नेपाल सिन्धुपाल्चोक १ बाट उम्मेदवार बनेका छन् ।

यसैगरी पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोक २ बाट उम्मेदवार हुँदा उनीसँग पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत मैदानमा छन् । यता मकवानपुर १ मा संघीय सरकारका पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडासँग एमालेका युवा नेता महेशकुमार बर्तौला मैदानमा उत्रेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले जित सुनिश्चित नभएपछि छाडेका चितवन ३ मा उनको पार्टीबाट भोजराज अधिकारी मैदानमा छन् । यही क्षेत्रमा एमालेबाट रामप्रसाद न्यौपाने, राप्रपाबाट विक्रम पाण्डे, काँग्रेसबाट स्वतन्त्र बनेका दिनेश कोइराला र जगन्नाथ पौडेल पनि मैदानमा छन् ।

यता चितवन २ मा पूर्व सांसद समेत रहेका एमाले नेता कृष्णभक्त पोखरेलसँग पूर्व राज्यमन्त्री नेपाली काँग्रेसका उमेश श्रेष्ठ पनि मैदानमा छन् । यही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको पनि उम्मेदवारी छ ।

गोप्य मताधिकार मतदाताको हक हो । आगामी ५ वर्ष मुलुकको लागि नयाँ जोशमा नयाँ योजना लिएर आएकालाई रोज्ने वा पाका र अनुभवी व्यक्ति र उहाँहरूको विगतलाई हेरेर दोहोर्‍याउने अवसर प्रदान गर्ने यो मतदाताको हातमा छ ।


Author

थप समाचार
x