राजनीति

जितियो भने राजनीतिक, संवैधानिक नियुक्ति हुन्छन्, राजदूत हुन्छन् : प्रचण्ड

नेता/कार्यकर्ता फकाउन राजनीतिक नियुक्तिको प्रलोभन

बाबुराम भण्डारी |
कात्तिक ५, २०७९ शनिबार १५:० बजे

विराटनगर- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धनभित्र असन्तुष्ट नेता कार्यकर्ताहरूलाई फकाउन राजनीतिक नियुक्तिको प्रलोभन देखाएका छन् ।

शनिबार विराटनगरमा आयोजित लोकतान्त्रिक–वाम गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनले चुनाव जितेर बहुमतको सरकार बनेको खण्डमा अहिले टिकट नपाएका गठबन्धनका नेता/कार्यकर्ताहरूका लागि अवसर अवसर हुने लोभ देखाए । उनले आगामी निर्वाचनलाई महासंग्रामका रूपमा लिएर अघि बढ्न भनेका छन् । अहिले देखिएका समस्यालाई थाती राख्न र निर्वाचनपछि समिक्षा गर्नुपर्ने भन्दै गठबन्धनलाई जसरी पनि जिताउनुपर्ने बताए ।


प्रचण्डले अहिले आपसमा केही नमिलेको जस्तो, हँसिया हथौडामा भोट हाल्न रुखवालालाई अप्ठेरो जस्तो, रुखवालालाई हँसिया हथौडामा भोट हाल्न अप्ठेरो भएजस्तो, कलमवालालाई रुखमा अप्ठेरो जस्तो भएको स्वीकार्दै १२ बुँदे समझदारीदेखि विस्तृत शान्ति सम्झौतासम्मलाई सम्झिन गठबन्धनका कार्यकर्ताहरूलाई आग्रह गरे ।

‘अलग-अलग पार्टीहरूका बीचमा केही समस्या छन् भने पनि यो निर्वाचन निर्वाचनको महासंग्राममा थाती राखेर निर्वाचनपछि समीक्षा गरौँला,’ प्रचण्डले भने, ‘हेर्नुस् गठबन्धनले जित्यो बहुमत आएर सरकार बन्यो भने अवसरैअवसर हुन्छन्, अहिले टिकट नपाउनु भएको या टिकट वितरणमा अलिक भनेको जस्तो नभएकोले मन खुम्चिएका साथीहरूलाई पनि भोलि हामी बहुमतको सरकार बनेपछि थुप्रै राजनीति नियुक्ति हुन्छन्, संवैधानिक नियुक्ति हुन्छन्, राजदूत हुन्छन्, के-के हुन्छन् के-के हुन्छन् हुन्छन् ।’

गठबन्धनले हारेको खण्डमा भने सबैको हालत खराब हुने उनले बताए । गठबन्धनभित्रका सबै दलका नेता/कार्यकर्ताहरूले एकअर्कालाई खुसीका साथ भोट हाल्नैपर्ने उल्लेख गरे । ‘अब हारियो भने चैं हामी सबैको हालत खराब, त्यसो भएर अहिले दुविधामा हामी कोही पनि बस्न हुँदैन, बडो प्रष्ट हुनुपर्यो यो कुरामा,' उनले भने, ‘गठबन्धन अन्तिम विजयको यात्रामा रहेको छ ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति उग्र हुँदै उनले प्रतिक्रान्तिवालाको गठबन्धनको संज्ञा दिए । प्रचण्डले भने, ‘त्यो गोरुगाडावालाकै गठबन्धन हो, यो चुनाव अग्रगमन र प्रतिगमन बीचको ब्याटल हो, जनतालाई यो तथ्य बुझाइदिनु पर्छ ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x