राजनीति

अब के भनेर एमालेले भोट माग्छ ? : श्याम घिमिरे

इकागज |
कात्तिक ५, २०७९ शनिबार १९:४ बजे

काठमाडाैं। नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सिन्धुली क्षेत्र नम्बर १ बाट गठबन्धनतर्फका उम्मेदवार श्यामकुमार घिमिरेले चुनाव जितेर गएपछि गठबन्धनभित्रका कुनै दललाई स्थिरता भत्काउने छुट नभएको बताएका छन्। शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै घिमिरेले आउने पाँच वर्षसम्म यही गठबन्धन कायम रहने दाबी गरेका हुन्।

'म केन्द्रीय सदस्यको हैसियतले प्रतिबद्धता गर्छु, यो गठबन्धन आउने पाँच वर्षसम्म भत्किने छैन,' तत्कालीन नेकपाले गरेको संसद विघटनलाई स्मरण गर्दै घिमिरेले भने, 'नेकपा एमालेले के भनेर भोट माग्ने? जनताले त्यत्रो मत दिएर पठाए तर दुइ-दुइपटक संसद भङ्ग गर्ने काम भयो। अब के भनेर एमालेले भोट माग्छ?'


साथै 'केन्द्रमा प्रभाव, क्षेत्रमा विकास'को नारा लगाउदै चुनावी अभियानमा होमिएका घिमिरेले आफूले राष्ट्रिय राजनीतिमा खेल्ने भूमिकाबारे समेत स्पष्ट पारेका छन्। एउटा सांसद भएर नीति निर्माण तहमा आफूले अब्बल भूमिका खेल्ने प्रतिज्ञा उनले गरे। "लोकतन्त्रको मान्यता भनेको विधिको शासन हो। त्यो विधिको शासन निर्माण गर्ने काममा सबैभन्दा सक्रिय सांसद भएर भूमिका खेल्छु। त्यस्तै असमान बजेट वितरणको अन्त्य गर्ने काममा पनि सक्रिय भूमिका खेल्छु,' उनले भने। शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको असमानताको खाडल पुर्न आफूले भूमिका खेल्ने घिमिरेको जिकिर छ।

शिक्षामा व्यापक असमानता रहेको बताउदै सार्वजनिक शिक्षामा सुधार गर्ने र विद्यालयदेखि विश्वविद्यालय शिक्षामा आमूल परिवर्तन ल्याउनेमा अग्रसर भएर काम गर्नेमा दाबी उनले गरे। 'म एउटा अभियान सुरु गर्छु भनेको छु, सम्पुर्ण सरकारी अस्पतालको गुणस्तर सुधार गर्दै निशुल्क उपचारको थालनी गर्ने अभियान थाल्छु,' उनले थप भने, ' योसँगै सिन्धुलीमा पूर्वाधारको क्षेत्रमा काम गर्न धेरै बाँकी छ।


Author

थप समाचार
x