मत माग्न गाउँगाउँमा उम्मेदवार
लमजुङ- मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू मत माग्न गाउँगाउँ पुगेका छन् ।
विभिन्न दलबाट उम्मेदवार बनेकाहरू आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका छन् ।
नेपाली कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले उम्मेदवारहरू प्रचारप्रसार तथा भेटघाटमा व्यस्त रहेको बताए । लमजुङमा सत्ता गठबन्धनका दलहरूका उम्मेदवारहरू सँगसँगै कार्यक्रममा हिँडेका छन् । प्रतिनिधि सभा माओवादीले र प्रदेश सभा ‘क’ र ‘ख’मा कांग्रेसले उम्मेदवारी दिएको छ ।
नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले निर्वाचन केन्द्रित भेला तथा कार्यक्रमहरू भइरहेको बताए । प्रदेश सभा ‘ख’का उम्मेदवार पनि भएकाले मतदातासँगको भेटघाटलाई तीव्र पारेको बताए । प्रतिनिधि सभा सदस्यमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
प्रदेश सभा (क) मा एमालेका जमीन्द्रमान घले र कांग्रेसका टकराज गुरुङ, प्रदेश सभा (ख)मा एमालेका कृष्णप्रसाद अधिकारी र कांग्रेसका भेषबहादुर पौडेल चुनावी मैदानमा छन् । प्रतिनिधि सभामा एक जना स्वतन्त्रसहित ११ जना उम्मेदवार छन् । प्रदेश सभा (क) मा पाँच जना र प्रदेश सभा (ख) मा छ जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया