संक्रमण रोक्न आदेश पालना गर्न स्वास्थ्यमन्त्रीको आग्रह
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरेको आदेश पालना गर्न आग्रह गरेका छन् । आज मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले सबैलाई आदेश पालना गरी सरकारले कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न चालेको कदममा सहयोग गर्न आग्रह गरेका हुन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो । मन्त्री त्रिपाठीले भाइरसले हुने ठूलो चुनौती रोक्न आदेश जारी गरिएकाले त्यसको सबैले पालना गर्नुपर्ने बताए ।
उनले आदेश पालना गरे मात्र कोभिड- १९ लाई पराजित गर्न सकिने भन्दै आदेश पालनामा कतै कमजोरी देखिए त्यसले मुलुक ठूलो दुष्चक्रमा फस्नेसमेत चेतावनी दिए । “सबैलाई म आग्रह गर्नु चाहन्छु कि सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नुहोस्”, उनले भने, “आदेश पालना नगरे कठोर कदम उठाउन सरकार बाध्य हुनेछ ।” मन्त्री त्रिपाठीले संक्रमणलाई हल्कारूपमा नलिन र हल्का ढङ्गले लिए सङ्क्रमण अझ बढ्न गई स्थिति गम्भीर बन्न आग्रह गरे ।
उनले जनताको जीवन जोगाउनका लागि नै सरकारले आदेश जारी गरेको बताए । उनले सरकारको बन्दाबन्दी गर्ने कुनै चाहना नभएको पनि उल्लेख गरे । “बन्दाबन्दीले हाम्रो जीवनलाई कस्तो असर गर्यो भन्ने कुरा हामीले विगतको अभ्यासबाट थाहा पाएका छौँ । हामी भरसक बन्दाबन्दी गर्ने पक्षमा छैनौँ”, उनले भने ।
सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पाँच हप्तादेखि सङ्क्रमण बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरे । उनले संक्रमणको नयाँ स्वरुप देखिएकाले सचेत रहनु पर्नेमा जोड दिए । आज मुलुकभर एक हजार ७३६ सङ्क्रमित फेला परेका छन् । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया