राजनीति

'काम नगर्नेलाई किन भोट दिने ?'

इकागज |
कात्तिक १२, २०७९ शनिबार १४:२४ बजे

भजनी-अछामको रामारोशन गाउँपालिका-१ का प्रेमबहादुर विकको सात रोपनी खेत २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले बगायो । खेतसँगै वर्षभरी खान पुग्ने पाक्ने तयारीमा रहेको धान पनि बग्यो ।    
    
बाढीले खेत र धान बगाएपछि निराश बनेका विकलाई अनुमगनमा पुगेका सांसद तथा मन्त्रीहरुले राहत उपलब्ध गराउने आश्वासन दिए । सांसद तथा मन्त्रीहरुबाट आश्वासन पाएपछि विकले केही राहतले श्वास फेरे ।    
    
तर आश्वासन पाए पनि विकले हालसम्म पनि राहत पाएका छैनन् । बाढीले बगाएको विकको खेत अहिले बगरमा परिणत भएको छ ।    
    
प्रेमबहादुरको खेत मात्रै होइन त्यो बेलाको नयन विकको चार रोपनी खेत बगाएको थियो । प्रेमबहादुर र नयन विक तत्कालीन समयमा पाएको आश्वासन पूरा नहुँदा राजनीतिक दलका नेताहरुप्रति असन्तुष्ट बनेका छन् ।    
    
उनीहरु आसन्न निर्वाचनमा गाउँमा पुग्ने नेताहरुलाई यही प्रश्न सोध्ने तयारीमा छन्। “विपदको समयमा कसैले केही नगर्ने र निर्वाचनमा आफ्नो हुँ भन्दै आउने नेताहरुलाई भोट किन दिने भन्दै प्रश्न सोध्नेछु”, नयन विकले भने।    
    
हामीलाई राहत चाहिएको बेला नदिनेलाई अहिले कसरी भोट दिने ? भन्दै नयन विकले प्रश्न गरे ।    
    
“हामी दुई वर्षदेखि खेतीपातीविहीन हुँदा पनि के खायौँ भनेर कसैले सोधेन,” नयन विकले भने, “चुनाव आएपछि सबै समस्याको समाधान हामी गर्छौँ भन्नेलाई कसरी विश्वास गर्नु ?”    
    
प्रेमबहादुर र नयनको मात्रै होइन, त्यो बाढीले स्थानीय नामसरा खनाल खेत पनि बगाएको थियो ।    
    
“५० क्विन्टलसम्म धान फल्ने खेत बाढीले एकै झड्कामा बगायो”, खनालले भने, “सन्तानको अध्ययन र घर खर्चको माध्यम नै यही खेत थियो तर यस्तो समस्यामा पनि पर्दा सोधपुछ गर्न कोही आएनन् ।”     
    
कैलाश खोलाको त्रासमा आज पनि तटीय क्षेत्रका स्थानीयमा बाँकी छ । बाढीले अस्तव्यस्त भएको रामारोशनका स्थानीयबासीको जीवन पुरानो लयमा फर्कन अझै सकेको छैन ।    
    
सङ्घ र प्रदेश सरकारसँग पटकपटक दीर्घकालीन तटबन्धका लागि आग्रह गर्दा समेत कतैबाट सुनुवाइ नभएको स्थानीय अगुवा दाताराम खनाल बताउँछन् । “पछिल्लो दुई वर्षको अवधिमा व्यवस्थापनका लागि कैयन प्रयास भए तर काम हुन सकेन”, उनले भने ।    
    
उनले आसन्न निर्वाचनमा राजनीतिक पार्टी हेरेर भन्दा पनि उम्मेदवारको क्षमताका आधारमा मतदान गर्न आह्वान गरेको बताए।    
    
“कैलाश खोला हाम्रा लागि लामो समयदेखि समस्या बनेको छ छ । निर्वाचनमा जसले खोला नियन्त्रणका लागि ठोस योजनाका ल्याउँछ हामी उसैलाई भोट दिन्छौँ”, उनले भने ।    
    
तत्कालीन बाढीले क्षति पुर्‍याएको जयगड, रामारोशन सडक पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । हिउँदको समयमा अल्पकालीन खोला किनारबाट अस्थायी साधारण बाटो खोलेर सवारीसाधन सञ्चालनमा आउने गरे पनि सहजरुपमा सडक सञ्जाल विस्तार नसकेको हो ।    
    
सुदूरपश्चिम प्रदेश सरकारले जयगड मुजाबगर सडक कालोपत्रेको काम सुरु गरेपछि खोलाको कटानको बाहनामा निर्माण कम्पनीले काम नै बन्द गरेको छ । बाढीले कटान गरेका कैयौँ ठाउँमा नयाँ साधारण बाटो खोल्नुपर्ने भएका कारण पनि सडक निर्माणले गति लिन सकेको छैन ।
    
आसन्न निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनका लागि गठबन्धनको तर्फबाट शेरबहादुर कुँवर, नेकपा एमालेको तर्फबाट झपटबहादुर बोहराबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।    
    
साथै, प्रदेश ‘क’ बाट गठबन्धनतर्फबाट नेपाली कांग्रेसका मेघराज खड्का, नेकपा एमालेबाट टेकबहादुर कुँवर र प्रदेश ‘ख’ बाट गठबन्धनका नेकपा माओवादी केन्द्रका झपट साउँद, एमालेका कृष्णप्रसाद जैसी प्रतिस्पर्धामा छन् ।



Author

थप समाचार
x