लमजुङमा निर्वाचनलाई थप चार सय सुरक्षाकर्मी माग
लमजुङ । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा ४०० भन्दा बढी सुरक्षाकर्मी अपुग भएको छ । लमजुङमा २ हजार ३७६ सुरक्षाकर्मी खटाउने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
सबैभन्दा बढी म्यादी प्रहरी १ हजार ९७ जना खटिने छन् । नेपाल प्रहरी ६१२ जना खटाइने भएकोमा लमजुङमा ३६१ जना मात्रै प्रहरी छन् । कम्तीमा २४० प्रहरी अपुग छ । सशस्त्र प्रहरी बलका १९७ जना खटाइने भएकोमा लमजुङमा ३६ जना मात्रै छन् । १६१ अपुग छ ।
सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले निर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरी गरी ४०० जनशक्ति अपुग रहेको बताए ।
लमजुङमा अति संवेदनशील मतदानस्थलमा वरिष्ठ सई, संवेदनशीलमा सई र सामान्यमा असईको कमाण्डमा प्रहरी खटाइने डीएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार म्यादीसहित कम्तीमा ९ देखि ११ जनासम्म प्रहरी खटिनेछन् ।
निर्वाचनमा नेपाली सेना ४६० र राष्ट्रिय अनुसन्धानका १० जना सुरक्षाकर्मी खटिनेछन् । नेपाली सेना भने मौजुदा रहेको सुरक्षा समितिले जनाएको छ । नेपाली सेनाको अपुग भएमा सेनाले नै व्यवस्थापन गर्नेछ ।
मतदानस्थलको पहिलो घेरामा हतियारसहितको नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरा कम्पाउण्ड बाहिर सशस्त्र प्रहरी र त्यसभन्दा बाहिर नेपाली सेना परिचालन गरिनेछ ।
लमजुङका २२ मतदानस्थल अति संवेदनशील देखिएका छन् । ८३ मतदानस्थल संवेदनशील छन् । २३ मतदानस्थलमात्रै सामान्य देखिएका छन् । भौगोलिक दृष्टिकोणबाट सदरमुकामबाट धेरै टाढा, यातायातको असुगमता, विगतका घटना, अरु जिल्लासंग सीमा जोडिएका तथा विभिन्न समीक्षाबाट सुरक्षा खतरा देखिएका ठाउँ अति संवेदनशील मतदानस्थलमा परेका प्रजिअ वैद्यले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया