राजनीति

चर्चामा आउन के उम्मेदवार आफैले घरमा बम राखेका हुन् ?

इकागज |
कात्तिक १३, २०७९ आइतबार १५:११ बजे

बुटवल। आफैँले घरमा बम राखेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका रुपन्देही–२ का प्रतिनिधिसभा उम्मेदवार गणेश पौडेल शंकाको घेरामा परेका छन् । प्रहरीले उनीमाथि बम राखेको हुनसक्ने आशंकाका आधारमा अनुसन्धान थालेको छ ।

आइतबार बिहानै बुटवल–१२ नयाँ गाउँमा रहेकाे आफ्नो घरमा बम जस्तो शंकास्पद वस्तु फेला परेको भन्दै पौडेलले सञ्चारकर्मीहरूलाई समाचार बनाउन आग्रह गरेका थिए । 


तर, नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर डिस्पोज गर्न खोज्दा उक्त वस्तु बम नभएको र खाली प्रेस कुकर मात्र भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । उक्त शंकास्पद वस्तु पौडेल आफैँले राखेको वा राख्न लगाएको आशंकापछि पौडेल नै प्रहरीको अनुसन्धानको घेरामा परेका हुन् । 

'शंकास्पद वस्तु राखियो भनेर प्रायोजित प्रचार गरेर चर्चा कमाउन खोजेको हामीलाई फिल भएको छ,' इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले भने, 'हामी उहाँ (गणेश पौडेल) को कल डिटेल, मुभमेन्ट सबै अनुसन्धान गर्छौं ।'

रुपन्देही-२ मा सत्ता गठबन्धन उम्मेदवारविहीन भएपछि पौडेलले आफूलाई समर्थन गर्न आग्रह गर्दै केही दिनअघि पत्रकार सम्मेलन समेत गरेका थिए । तर, त्यसको भोलिपल्ट सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ ।  रुपन्देही–२ मा नेकपा एमालेबाट पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल उम्मेदवार छन् । 

पौडेलले भने आफू बिहान घर बाहिर निस्कँदा कार्टुनमा शंकास्पद वस्तु र कागजमा खतरा लेखिएको देखेपछि प्रहरी र सञ्चारकर्मीलाई खबर गरेको बताए । स्थानीय एक राजनीतिक दलका अगुवाले शंकास्पद वस्तु राख्नैपर्ने भए जिल्लाका अरु ठूला दलका चर्चित उम्मेदवारकै घरमा राख्नुपर्ने भन्दै यो केवल चर्चा र सहानुभूति बटुल्ने प्रायोजिक काम भएको दावी गरे ।   


Author

थप समाचार
x