राजनीति

रमेश खरेल, कुन्तीदेवी पोख्रेल र जीवनराम श्रेष्ठ मतदातालाई के भनेर फकाउँदै छन् ?

सदिक्षा आचार्य |
कात्तिक १६, २०७९ बुधबार १३:४८ बजे

काठमाडौं- आगामी मंसिर–४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदै छ । दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । एकपछि अर्को पार्टीको घोषणापत्र दिन बिराएर सार्वजनिक हुँदै छ । पार्टीको घोषणापत्र सबै उम्मेदवारका लागि भयो । तर उम्मेदवारले घोषणापत्रअघि नै आफ्ना व्यक्तिगत प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् । यही प्रतिबद्धतापत्र लिएर उनीहरू घरदैलो अभियानमा आश्वासन दिँदै हिँडिरहेका छन् ।

यस्ता प्रतिबद्धतापत्रमा गाउँका उम्मेदवारले  गाउँमा बाटो बनाँउछु, पुल बनाउँछु भनेर सपना बाँडेको देखिन्छ । तर सहरका उम्मेदवार भने ‘नो नट अगेन’का नाराले चिन्तित छन् ।  गाउँमा जस्तो न बाटो बनाइदिन्छु भन्ने प्रतिबद्धता न पुल । सहरका उम्मेदवारलाई मतदाताको ध्यान कुन अजेन्डाले आकर्षित गर्ने सकस परिरहेको छ । स्थानीय तहमा आएको अप्रत्यासित चुनावी नतिजाले पनि सहरका उम्मेदवारलाई तर्साएको छ । यस्तोमा उम्मेदवारहरू के एजेन्डा बेचेर काठमाडौंका मतदाताहरू रिझाउँदैछन् ?


काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा विभिन्न पार्टीका उम्मेदवार निर्वाचनका लागि होमिएका छन् । यी १० क्षेत्रमा स्वतन्त्र उम्मेदवारको पनि चाप छ । क्षेत्र नं १ मा स्वतन्त्र राजनीतिक शक्ति नेपालका तर्फबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका रमेश खरेल अहिले घरदैलो अभियानमा व्यस्त छन् । पूर्वडिआइजी समेत रहेका खरेलले २०२१ डिसेम्बर १० मा सुशासन पार्टी समेत दर्ता गरेका थिए तर हाल उक्त पार्टी निष्क्रिय छ् । खरेल राजनीतिमा प्रवेश गर्नुको मुख्य ध्येय सुशासन रहेको बताउँछन् । बच्चासहितको आमा चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका उनले सुशासनसँगै राष्ट्रियताका अमूर्त कुराले मतदाता रिझाउने प्रयास गरिरहेका छन् ।  

देशलाई माया गर्ने सबै एकै टिमबाट जाने, एउटै चुनाव चिह्न लिएर चुनाव लडौँ भनेर तीन महिना दौडधूप गरे पनि सो उद्देश्य पूरा नभएको उनी बताउँछन् । 

‘क्षेत्र नं १ ले समग्र देशलाई नै प्रतिनिधित्व गर्दछ । यस क्षेत्रमा मलाई पत्याउनु भयो भने मैले समग्र देशलाई नै ‘रेप्रिजेन्ट’ गर्ने हो,’ खरेल भन्छन्, ‘सबैभन्दा राष्ट्रियताको खतरा छ । देश रहने हो कि होइन भन्ने खतरा छ । देश ‘प्रो नेपाली’ भएन  ।  देश ‘प्रो इन्डियन’, ‘प्रो चाइनिज’, ‘प्रो यूरोपियन यूनियन’ भएको छ । यसलाई ‘प्रो नेपाली’ बनाउन जरूरी छ । सिमाना सारिएको छ । खुम्चिएको छ । सरकार  केही बोल्दैन । बोलेको जस्तो गर्छ फेरि चुप लाग्छ । चुनावको बेलामा स्टन्ट गर्न यस्ता इस्यु उठाउँछन् अनि केही पनि गर्दैनन् । म चाहिँ यो अजेन्डा अहिले मात्र होइन, पछिसम्मै छाड्दिनँ ।’

खरेल ‘ब्रेन ड्रेन’ छ, ‘ब्रेन गेन’ होस् भन्ने अभिप्रायले आफू र आफ्नो पार्टीले काम गर्ने दाबी गर्छन् । त्यसै गरी ‘दण्डहीनता’को अन्त्य, चुनाव जितेर गएका सांसद, मतदाताहरू एवं समस्त जनताप्रति पारदर्शी हुनुपर्ने उनको अडान छ । क्षेत्र नं १ मा बाटो, खानेपानीको अवस्था बिग्रेको र रूद्रमती नदीको किनाराका अव्यवस्थित बस्तीहरू पनि त व्यवस्थित गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको खरेल बताउँछन् । 

‘मेरो मुख्य एजेन्डा भनेकै नेपालीहरूमा राष्ट्रियताको भावना उजागर गर्नु हो,’ उनी भन्छन्, ‘क्षेत्र नं १ मा मेरो निकटतम् प्रतिस्पर्धी भनेकै प्रकाशमान सिंह मात्रै हुनुहुन्छ, मैले अरूलाई प्रतिस्पर्धीको रूपमा हेरेकै छैन’ खरेल भन्छन् । 

यस्तै काठमाडौं क्षेत्र नं २ मा राप्रपाबाट कुन्तीदेवी पोखरेलको उम्मेदवारी रहेको छ । पार्टीले घोषणापत्रमा अभिभावकीय राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेश खारेजी मुख्य एजेन्डाका रूपमा अघि सारेको छ । यस्तैमा पोखरेलको व्यक्तिगत अजेन्डाहरू भने उद्यमशीलतासँग केन्द्रित रहेको उनी बताउँछिन् । 

‘म उद्यमी हुँ । समाजसेवी पनि हुँ । राजनीतिक दुरावस्था, भ्रष्टाचार, माफियातन्त्र, दलालीतन्त्र, गरिबी, युवा पलायन देखेर उम्मेदवारी दिएकी हुँ । म घरदैलो अभियानमा हिँडिरहेकी छु । उहाँहरूले मलाई निकै माया र सद्भाव दिनुभएको छ,’ कुन्तीको भनाइ छ ।  

कुन्ती ‘नो नट अगेन’को अभियानले आफूलाई भने फाइदा भएको बताउँछिन् । उनले पहिला जितेका उम्मेदवारहरू फेरि त्यो ठाउँमा फर्केर पनि नआएको र कामको नाममा सिन्को पनि नभाँचेकाले मतदाताले आफूलाई सहर्ष स्वागत गरिरहेको बताउँछिन् । 

‘अहिले त भोट नै दिँदैनौँ भन्ने नै धेरै हुनुहुन्छ, सायद वितृष्णा होला उहाँहरूको । नो नट अगेनको अभियानले हामीलाई झन् सहज भएको छ । नाम्लेभारेतिर त कति विकट ठाउँ छ । त्यहाँसम्म मेरो क्षेत्र छ । मैले कसैलाई पनि प्रतिस्पर्धी नै ठान्दिनँ यसपटक । मतदाताहरूले तपाईं नै हो है भन्नुभएको छ । प्रजातन्त्रवादीहरूले मलाई नै  रोजेको अवस्था छ ,’ कुन्ती भन्छिन् । 

स्थानीय बासिन्दाहरूमा विकासको बुझाइमा पनि समस्या रहेको कुन्तीको अनुभव छ । भन्छिन्, ‘संसद्ले नीति निर्माण गर्ने हो, विकास गर्छु भन्ने होइन तर विकास गर्नलाई चाहिने बजेट ल्याउने ठाउँसम्म त पत्राचार गर्न सकियो नि ।’ 

उनले अजेन्डामा कपडा नेपालमै उत्पादन गर्ने कुरालाई प्राथमिकता राखेकी छिन् । उनले ६ महिनामा उद्योग बन्द गर्ने अवस्था सिर्जना नहोस् भन्ने कुरामा आफ्नो पहल रहने बताइन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका जीवनराम श्रेष्ठको काठमाडौं क्षेत्र नं ८ बाट उम्मेदवार छन् । उनी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार हुन् । उनले भने चुनावमा ‘नेपालको पानी नेपालमा’ भन्ने नारासहित पानीको मुद्दालाई उठाएका छन् । यसै गरी उनले  संस्कृति संरक्षणको मुद्दालाई पनि चुनावी अजेन्डा बनाएका छन् ।  

उनी भन्छन्, ‘मेरो क्षेत्रलाई नमुना क्षेत्रका रूपमा चिनाउने ध्येय हो । पाँच वर्ष अगाडि पनि अमूल्य मत दिएर यहाँका जनताले मलाई निर्वाचित गराएर पठाउनु भएकै हो । विश्व सम्पदा सूचीमा भएको हनुमानढोका, स्वयम्भू हाम्रै क्षेत्रमा पर्ने भएकाले ‘हेरिटेज ट्रेल’ बनाउने योजना छ ।’

विकासका कामहरू अगाडि बढाउने र जात्रा पर्वहरू हुने ठाउँ भएकाले यहाँको संस्कृति, पर्यटन प्रर्वद्धन गर्न सके यो ठाउँ नमुना हुने प्रतिबद्धतापत्रमा उल्लेख छ।  तर अघिल्लो कार्यकाल यस्तै अजेन्डा लिएर चुनाव जितेका उनले पाँच वर्षमा त्यो काम किन नगरेको भन्ने मतदाताको प्रश्नको भने जवाफ दिन सकेका छैनन् ।

काठमाडौंका १० निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभामा विभिन्न दल र स्वतन्त्रहरू गरेर कुल दुई सय ५६ उम्मेदवार छन् । जसमा प्रकाशमान सिंह, गगन थापा, ईश्वर पोखरेल, जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, भीमसेनदास प्रधान जस्ता उम्मेदवारहरू पटकपटक निर्वाचित उम्मेदवारहरू हुन् ।

उनीहरूका आफ्ना व्यक्तिगत प्रतिबद्धताहरूमा उनीहरू आफैँ नै प्रस्ट देखिँदैनन् । ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ नारा लिएका प्रकाशमान सिंह, ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएका ईश्वर पोखरेल र ‘समुन्नत नेपाल सम्मानित नेपाली’को नारा लिएका गगन थापा र ‘परिवर्तन नारामा होइन, व्यवहारमा देखाउन’ भन्ने नारा लिएका जीवनराम श्रेष्ठका, लोकतन्त्रसँगै समृद्धि कुशल नेतृत्वको साथ नारा लिएका भीमसेनदास प्रधान, भ्रष्टाचार नियन्त्रण र सुशासनयुक्त जनउत्तरदायी सरकारजस्ता प्रतिबद्धता लिएका कृष्णगोपाल श्रेष्ठका चुनावी नाराको आयु कति छ भनेर उनीहरूकै काम हेरे आंकलन गर्न सकिएला । 

काठमाडौं क्षेत्र नं १ की मतदाता सम्पदा श्रेष्ठ भने जति पटक जिते पनि उनीहरू उस्तै भएको, गफ मात्रै गर्ने र काम नगर्ने भएकाले यसपालि ‘नो भोट’ अर्थात् भोट नै नदिने निर्णय गरेको बताउँछिन् । 
 


Author

थप समाचार
x