गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रूपमा लिएको छु : प्रचण्ड
फाइल तस्बिर
काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा भएको गोरखाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेको बताए ।
अध्यक्ष दाहालले राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य रहेको पनि बताए । उनले नताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन र आर्थिक क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन दिगो नहुने बताए ।
उनले नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर ढुक्कसँग जानसक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव रहेको बताए। उनले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रुपमा लिएको बताए ।
उनले गोरखा जिल्लाको इतिहास, राष्ट्र एकताको बचाइरहने र राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका उजागर पार्नुपर्ने चुनौती रहेको बताए । गोरखाली जनताले आफूलाई नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने अवसर प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए ।
‘मेरो गोरखा आगमनलाई मैले ठूलो चुनौती र अवसरको रुपमा लिएको छु । चुनौती गोरखा जिल्लाको इतिहास, राष्ट्र एकताको सन्दर्भमा वा राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका छ,' उनले भने, 'जुन दूरगारी रणनैतिक भूमिका छ । त्यो भूमिका खेल्ने जनताको भावनालाई मैले उचित सम्मान गर्न सक्छु कि सक्दिनँ भन्ने चुनौती जस्तो मलाई महसुस भइराख्छ ।'
अध्यक्ष दाहालले गोरखाको विकासको लागि सबै राजनीतिक दलहरू एकत्रित भएर काम गर्न आवश्यक रहेको बताए । उनले गठबन्धनले गोरखामा जितेको चुनाव परिणाम असाधारण तरिकाले जित्यो भन्नेकुरा सावित गर्न सक्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया