पञ्चायतकालमा आगजनी गरिएकाे धियाँल बरबोट बस्ती संरक्षण गर्ने आश्वासन
मकवानपुर । पञ्चायतकालमा मकवानपुरको तत्कालीन धियाँल बरबोटमा करिब ७ सय घरमा आगजनी भएको थियो । वन क्षेत्रमा वस्ती बसेको भन्दै पञ्चायत सरकारले उक्त वस्तीमा आगजनी गरी हटाइएको थियो ।
पञ्चायतकालको २०४४ सालले दिएको स्थानीयवासीको पीडामा मलम लगाउने गरी मकवानपुरका प्रतिनिधि सभा क्षेत्र १ तथा प्रदेश सभा १ क का उम्मेदवारले प्रतिवद्धता व्यक्त गरेका छन् । चुनावी प्रचारप्रसारको क्रममा हालको बकैया गाउँपालिका १ धियाँलको बरबोट चिसापानी सभामा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार नेपाली काँग्रेसका महालक्ष्मी उपाध्याय डिना तथा प्रदेश सभा १ क का उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तुले आफूहरु बस्तीको संरक्षण र विकासको लागि आएको बताएका थिए । ‘हामी यो बस्तीलाई बचाउन आएका छौं यहाँको लालपूर्जा र सीमाको समस्या हामी समाधान गर्छौ’ उम्मेदवारद्वयले भने ‘हामीलाई जिताउनुस् यस ठाउँको विकास गर्ने जिम्मा हाम्रो भयो ।’
के भएको थियो २०४४ सालमा ?
२०४४ सालमा बस्ती हटाउने हल्ला चलेपछि तत्कालीन धियाँल गाउँ पञ्चायतमा पर्ने हाल बकैया गाउँपालिका १ स्थित बरबोटका स्थानीय त्रसित थिए । वर्षौदेखि बसोबास गर्दै आएको थातथलो छाड्नुपर्ने पीडाले स्थानीयलाई चिन्तित बनाएको थियो ।
वन क्षेत्रमा वस्ती बसेकोले हटाउनु पर्ने विषयमा छलफल गर्न यस क्षेत्रबाट निर्वाचित सांसद कमल थापाले स्थानीयलाई हेटौंडा बोलाए । गाउँघरका भद्रभलादमी र युवाहरु सबैलाई छलफलको लागि भन्दै हेटौंडा बोलाईयो । २०४४ सालको त्यो घटनाले दिएको पीडा अझै पनि बकैया गाउँपालिकाका स्थानीयले भुलेका छैनन् ।
२०४४ सालमा पञ्चायत सरकारका बन मन्त्री हेमबहादुर मल्ल र त्यस समयमा मकवानपुरको यसै क्षेत्रबाट निर्वाचित हालका राप्रपा नेपालका अध्यक्ष थापाले बन क्षेत्रमा बस्ती बसेको भन्दै करिब सातसय घरमा आगजनी गरेका थिए । त्यसबेला आगजनीसँगै हात्ती लगाएर घरहरु भत्काइएको थियो । हाल बकैया १ नम्बर वडाको धियाँल डाँडा, माहादेव डाँडा, रजुवाई, इपिलघारी, हिलेखोला लगायत बस्ती आगजनी गरेर हटाएको तत्कालिन धियाँल गाउँ पञ्चालय प्रमुख शेर बहादुर भ्लोनले बताए ।
भागदौडको समयमा कोक्रोमा रहेको बच्चा सहित महिला र बालवालिकाहरुले ज्यान गुमाएका थिए । बस्तीको बारेमा छलफल गर्न भन्दै यस क्षेत्रका सांसद थापाले गाउँका जान्नेसुन्ने र युवाहरुलाई हेटौंडा बोलाएर गाउँमा महिला, बालवालिका मात्र भएको मौका छोपेर आगो लगाएको स्थानीय ८१ वर्षीय कान्छीमाया हिमडुङले बताइन् । ‘हाम्रो गाउँ खरानी भएको, बालबच्चा मरेको अझै बिर्सेको छैन हामीले’, उनले भनिन् ।
बि.सं. १९९३ सालको नम्बरी जग्गा समेत बस्ती उठाएर एलानी बनाएपछि यहाँका करिब सातसय परिवार सुकुम्बासी बनेका थिए । बिस्ताथित यो गाउँमा नेकपा माओवादीको पहलमा जनयुद्धको समयमा पुनः बस्ती बसालिएको स्थानीय बताउँछन् । बारा र रौतहटको सीमानामा पर्ने यो गाउँमा हाल करिब पच्चिससय परिवार बसोबास गर्दै आएका छन् ।
यसै क्षेत्रबाट फेरि कमल थापा यो पटक नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । यसै गाउँमा पुगेर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले बस्ती संरक्षणको बाचा गरेका छन् । सभालाई सम्बोधन गर्दै मकवानपुर १ (क) प्रदेशसभाका उम्मेदवार नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका उपाध्यक्ष प्रेम बहादुर पुलामीले मतदातालाई सचेत भएर जनताको पक्षमा काम गर्नेहरुलाई विजयी गराउन अनुरोध गरे ।
यस क्षेत्रको विकासमा आफूले लामो समयदेखि काम गर्दै आएको बताउँदै उनले जग्गाधनी पूर्जा बितरणको काम अघि बढेको बताए । साथै उनले छिमेकी जिल्लासँगको सीमा बिवादबारे पनि केन्द्र सरकारसँग पहल गरेर छिट्टै समाधान गरिने प्रतिबद्धता ब्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया