राजनीति

वर्तमान संसदीय प्रणालीले मुलुकलाई समृद्ध र विकसित बनाउन सकेनः अध्यक्ष यादव

इकागज |
कात्तिक १९, २०७९ शनिबार १७:१३ बजे

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय प्रणालीले मुलुकलाई समृद्ध र विकसित बनाउन नसकेको बताएका छन् ।

आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । शनिबार काठमाडौँ चुनावी घोषणापत्र सार्वजनिक गर्दै जनता समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय प्रणाली र १० वटा प्रदेश हुनुपर्ने धारणा अघि सारेको छ ।


प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले देशमा राजनीतिक स्थिरता दिन नसकेको र गणतन्त्रलाई बलियो बनाउन पनि असक्षम भएको बताए । उनले तीव्र रूपले देशलाई आर्थिक क्रान्ति र सम्बृद्धितर्फ लैजान जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय प्रणालीमा सरकार प्रमुख वा राष्ट्रप्रमुख कार्यकारिणी हुने व्यवस्था हुनु जरुरी रहेको बताए ।

उनले समानुपातिक संसद् रहने र संसद्ले संसदीय कार्य व्यवस्थापिकीय कार्यमा सीमित रहने कुरा लागू हुन जरुरी रहेको बताए । अध्यक्ष यादवले स्वतन्त्र र निष्पक्ष न्यायालय, राजनीतिक हस्तक्षेप र कार्यकर्ताको नियुक्ति राजनीतिक प्रभावबाट मुक्त, स्वतन्त्र र सक्षम न्यायालयको व्यवस्था गर्नका लागि वर्तमान संविधान संशोधन गर्नु अपरिहार्य रहेको बताए ।


Author

थप समाचार
x