पर्यटन क्षेत्रमा चार ‘क’ का एजेण्डा लिएर चुनावी मैदानमा दीपक गुरुङ
काठमाडौँ- कास्की १ (ख) मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उमेदवार दीपक गुरुङ माइला उमेदवार छन् । ‘दीपक’ पोखरा क्रपुडाँडादेखि कोरीसम्म, गुरुङहरूको उद्गमथलो क्होंलासोंथरदेखि क्हफुचे हिमतालसम्म पर्यटन क्षेत्रमा चार ‘क’ का एजेण्डा लिएर १ (ख) आफ्ना एजेण्डा लिएर हिँडिरहेका छन् ।
मादी गाउँपालिकाका १२ वटा वडा र पोखरा महानगरपालिकाका पाँचवटा वडा यस क्षेत्रमा पर्छन् । नेपाली कांग्रेसमा विद्यार्थीकालीन राजनीतिबाट प्रवेश गरी तरुण दल हुँदै हाल पार्टीको महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि रहेका गुरुङ सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।
चुनावी घरदैलोमा व्यस्त गुरुङ पर्यटकीय गाउँ सिक्लेस, ताङतिङसहित याङजाकोट लगायत मादी गाउँपालिकामा घरदैलोमा व्यस्त छन् । मादीलाई पर्यटकीय हब बनाउने एजेण्डालाई अगाडि सारेर उनी चुनावी मैदानमा होमिएका छन् ।
उनको योजना छ, ‘मादी राउण्ड ट्रेक स्थापना । क्होंलासोंथर सांस्कृतिक पदमार्ग र पोखरा–मादी–मनाङ रुटलाई भर्जिन ट्रेकका रूपमा विकास गर्ने ।‘
घरवास योजना अन्तर्गत परम्परागत शैलीमा निर्माण भएका घरहरूको संरक्षण तथा त्यस्तै शैलीमा नयाँ घर निर्माणलाई प्राथमिकतामा राखी उनी चुनावी मैदानमा छन् । निर्वाचन क्षेत्रमा सडक सञ्जालको विस्तार गर्ने, पोसि–मिजुरे–भाचोक–तोगी–याङ्जाकोट–ताङतिङ–सिक्लेस–तप्राङ सडकको स्तरोन्नती गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
भूगोल, जनसंख्या र आवश्यकताका आधारमा आवासीय विद्यालय सञ्चालन गर्ने, १५ शैयाको अस्पताल स्थापना गर्ने, स्वास्थ्य संस्थालाई दक्ष चिकित्सक र उपकरणयुक्त बनाउने उनको योजना छ । प्रत्येक घरधुरीलाई शुद्ध पिउने पानीको उपलब्धता, कृषकलाई आधुनिकीकरण र प्रविधिकरणमार्फत उत्पादन बढाउने, त्यो उत्पादनको लागि बजारको सुनिश्चितता गर्ने उनको एजेण्डा छ ।
एक घर, एक रोजगार, एक वडा, एक उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । महिलालाई अर्थोपार्जनमा जोड्ने भूमिहीनको व्यवस्थापन, विपत् व्यवस्थापनका लागि कोष सञ्चालन गर्ने एजेण्डासहित उनी चुनावी मैदानमा छन् ।
आफू निर्वाचनमा विजयी भएमा भ्रष्ट्राचाररहित समुन्नत समाज निर्माणको लागि आफ्नो ठाउँबाट अनवरत लागि रहने उनले बताए ।
को हुन दीपक ?
२०३८ असार २२ गते जन्मिएका गुरुङको राजनीति पृथ्वीनारायण क्याम्पसमा पढ्दाताका २०५६ साल बाट नेपाल विद्यार्थीसंघमार्फत् सुरु भएको हो । उनी अहिले तरुण दल कास्कीको उपसभापति पनि हुन् ।
नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै उनी अहिले पार्टीमा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य समेत छन् ।
२०५४ सालमा दीपकले नै याङ्जाकोट, ताङतिङ, सिक्लेस, चिप्ली लगायतका ठाउँमा २०५४ सालमा मार्ले नामक बास्केटबल टिम स्थापना गरे । उनै दीपकले सुरुवात गरेको बास्केटबलले अहिलेसम्म निरन्तरता पाइरहेको छ ।
पोखरा १३ मा वर्षेनि लोकप्रिय सांगितिक सांस्कृतिक कार्यक्रम हुने गरेको छ । विजयादशमीको अवसरमा हुने कालरात्री सांगितिक कार्यक्रमको सुरुवातकर्ता उनै दीपक हुन्। गुरुङ प्रसिद्ध भद्रकाली बहुमुखी क्याम्पसको सञ्चालक समितिका सदस्य समेत हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया