राजनीति

प्रचण्डका कारण मुलुक अस्थिरतामा धकेलियो : केपी ओली

इकागज |
कात्तिक २१, २०७९ सोमबार १४:३३ बजे

पोखरा- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का कारण संसद् विघटन गर्नु परेको बताएका छन् ।

एमाले कास्कीले सोमबार पोखरामा गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डको अतृप्त चाहनाका कारण संसद् विघटन गर्नु परेपछि मुलुक अस्थिरतामा धकेलिएको आरोप लगाएका हुन् । ‘माओवादी र हामी मिलेर संयुक्त घोषणापत्र ल्याएका थियौँ । प्रचण्डले त्यसलाई लत्याएर च्यातेर जनादेशको अनादर गरेपछि ताजा जनादेशमा जानुपर्ने अवस्था बन्यो,’ उनले भने ।


प्रचण्डले जनादेशको अनादर गरेर आफूहरूको प्रतिबद्धता च्यातेपछि संसद् विघटन गरिएको बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘संसद् विघटन गरेर ताजा जनादेशमा जाने विषयलाई प्रतिगमन हो भन्ने भाष्य सिर्जना गरेर जनमानसमा भ्रम सिर्जना गर्ने काम भएको छ । माओवादी अध्यक्ष प्रचण्डको अतृप्त आकांक्षाका कारण मुलुक संकटमा परेको हो ।’

यस निर्वाचनले देशको भविष्य कता लैजाने, देशले कुन बाटो लिने भनेर प्रष्ट पार्ने उनले बताए । उनले भने, ‘विनाशको बाटो कि विकासको बाटो रोज्ने विषयको फैसला गर्ने, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान जोगाउने भनेर रोज्ने यही निर्वाचनमा हो ।’

यो निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने उनको दाबी छ । अहिले नेपाली कांग्रेस लगायतका पार्टीले गलत चुनावी आँकलन प्रस्तुत गरेको भन्दै भ्रममा नपर्न ओलीको आग्रह छ । ‘कांग्रेसको हाराहारीमा भोट ल्याउँछ भनेर इम्प्रेसन दिइएको छ, त्यो गलत छ । एमाले अत्यधिक मार्जिनले अघि हुन्छ, एकल बहुमत ल्याउँछ । र, अरू केही दललाई सरकारमा सहभागी गराइन्छ,’ ओलीले भने ।


Author

थप समाचार
x