निर्वाचनको मौन अवधिमा बदमासी हुनसक्छ, आयोगले निगरानी गर्न आवश्यक छः पूर्वमन्त्री आचार्य
काठमाडौँ- पूर्वमन्त्री निलाम्बर आचार्यले राजनीतिक दलका प्रमुख नेताहरू उम्मेदवार भएको क्षेत्रमा निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
आइतबार ललितपुरमा आयोजित निर्वाचन आयोगको अभिभाराको सम्बन्धमा गरिएको अन्तरक्रियामा बोल्दै पूर्वमन्त्री आचार्यले प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँमा निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताए । उनले प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँमा मतदाताले कर, बल र अनुचित प्रभावबिना मतदान गरेको अनुभूति गर्न सक्नुपर्ने बताए ।
आचार्यले प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँलाई निर्वाचनको स्वच्छताको मापदण्डका रूपमा प्रस्तुत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।
पूर्वमन्त्री आचार्यले नेपालमा कुनै बेला रातारात मतपेटिका साटिएको तर्फ ध्यानाकर्षण गराउँदै मतपेटिकाको सुरक्षाका लागि सतर्कता आवश्यक रहेको जिकिर गरे । उनले नागरिकहरूको सजगता र सतर्कताले आयोगलाई पनि सजग र सतर्क हुन मद्दत गर्ने उल्लेख गरे । उनले निर्वाचनको मौन अवधिमा बदमासी हुनसक्ने भन्दै निगरानी गर्नुपर्ने बताए ।
कार्यान्वयन हुनसक्ने गरी मात्रै निर्वाचन सम्बन्धी कानुन बनाउनुपर्ने पूर्वमन्त्री आचार्यकाे जिकिर छ । उनले आचारसंहितामा कतिपय कुराहरू अस्पष्ट रहेको भन्दै त्यसलाई पनि प्रष्ट पार्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया