राजनीति

एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन : अध्यक्ष केसी

इकागज |
कात्तिक २१, २०७९ सोमबार २१:३५ बजे

ढोरपाटन- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले)लाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । आज बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट दिन नहुने बताए । 

सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधिसभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरे । केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने हुँदा यसलाई रोक्न जनता अग्रसर हुनु पर्नेमा उनको जोड थियो ।


उनले आगामी निर्वाचन प्रतिगमन र अग्रगमनका बीच प्रतिस्पर्धा हुने बताए । प्रतिगमनको विरुद्धमा र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको हुँदा सहज रूपमा चुनाव जित्ने केसीको दाबी छ । नेता केसीले संसद्‍मा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए ।

जनता विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै राष्ट्रिय योजनालाई पूरा गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए । आफू यसपटक प्रतिगमनलाई परास्त गर्न र जनजीविकाको पक्षमा संसद्‌मा आवाज उठाउन चुनावमा होमिएको बताए ।


Author

थप समाचार
x