राजनीति

एमाले उम्मेदवारको घरदैलोः स्थानीयको माग ढल निकास र सडक स्तरीकरण

इकागज |
कात्तिक २२, २०७९ मंगलबार १०:२१ बजे

मकवानपुर - ४ मंसिरमा हुने निर्वाचनको प्रचार प्रसारमा मकवानपुरका उम्मेदवारहरू तीब्रताका साथ लागेका छन् । मकवानपुरमा आ-आफ्नो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवारहरू विभिन्न एजेण्डासहित पुग्ने गरेका छन् । ८ वटा गाउँपालिका तथा २ वटा नगरपालिका रहेको जिल्लामा आफ्नो पक्षमा मत आकर्षित गर्न भूगोल पिच्छे फरक एजेण्डा उम्मेदवारहरूले प्रस्तुत गरिरहँदा मतदाताले समेत फरक माग राख्ने गरेका छन् ।

नेकपा एमालेका उम्मेदवारहरूको घरदैलोमा स्थानीयहरूले ढल निकासको समस्या, सडक स्तरीकरण नहुँदाको समस्या राखेका छन्। यसैगरी देशको प्रमुख जनशक्ति युवाहरूको बिदेश पलायनलाई रोक्न समेत स्थानीयको माग गरेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि नेकपा एमालेले गरिरहेको घरदैलो कार्यक्रम अन्तर्गत मकवानपुर क्षेत्र नं १ को हेटौंडा उपमहानगरपालिका ५ को विभिन्न टोलमा घर घर पुगेर उम्मेदवारले मत मागि रहँदा मतदाताहरूले उक्त माग राखेका हुन ।


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार राप्रपा अध्यक्ष कमल थापा र क्षेत्र नम्बर १ प्रदेश सभा 'ख' का उम्मेदवार एकालाल श्रेष्ठको घरदैलोमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का स्थानीय मतदाताले आफ्नो भूगोल अनुसारको माग राखेका हुन । उम्मेदवारद्वयले जनता चाहनाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार हेटौंडा ५ को सिंचाईकुना, दक्षिणकाली, राईटोल, ढुङ्गेधारा, नवीन टोल, मास्टरचोक, वनदेवि टोललगायत स्थानमा घरदैलो कार्यक्रम गरिएको एमाले मकवानपुरले जनाएको छ । समानुपातिक उम्मेदवार भारती पाठक , थापा र श्रेष्ठको संयुक्त उपस्थितिमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा बकैया गाउँपालिका, बागमती गाउँपालिका, मकवानपुर गढी गाउँपालिकाका १,२,३ र ४ नम्बर वडा तथा हेटौंडा उपमहानगरपालिकाको २,४,५,६,७,८,९,१०,१२,१३,१४, १५, १६, १७ र १८ नम्बर वडा पर्छ । त्यस्तै क्षेत्र नम्बर १ ख मा हेटौंडा उपमहानगरपालिकाको २,४,५,६,७,८,९,१०,१२,१३,१४ र १५ नम्बर वडा पर्छ ।

यसैगरी मकवानपुर क्षेत्र नम्बर १ ख का उम्मेदवार एकालाल श्रेष्ठले हटलाईन नम्बर संचालनमा ल्याएका छन् । श्रेष्ठले चुनावी अभियानको बारेमा आवश्यक जानकारी, जिज्ञासा, धारणा एवं सल्लाह, सुझाब र गुनासोको लागि ९८५११४८२८८ नम्बर संचालनमा ल्याएको बताए ।


Author

थप समाचार
x