मकवानपुरमा चुनावका लागि ३२ सय सुरक्षाकर्मी परिचालन हुने
फाइल तस्बिर
मकवानपुर - आसन्न मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि मकवानपुर जिल्लामा मात्र ३ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । चुनावका लागि जनपथ प्रहरी, म्यादी, सशस्त्र प्रहरी र नेपाली सेनालाई प्रत्येक मतदान केन्द्रमा खटाउने तयारी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिए ।
मकवानपुरका एक सय ६७ वटा मतदान स्थललाई केन्द्रित गरेर सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । चुनावका लागि राष्ट्रिय योजना अनुसार नै पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र मतदान स्थलवरपर गरेर तेस्रो घेरामा नेपाली सेना खटाइने पाण्डेले बताए ।
सबैभन्दा धेरै म्यादी प्रहरी १ हजार ६ सय ९९ जना, जनपथ प्रहरी १ हजार ६९ जना, सशस्त्र प्रहरी ४ सय जना र अरु नेपाली सेना खटाउने तयारी गरिएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो ।
सुरक्षाकर्मीकै निगरानीमा हरेक मतदान केन्द्रमा काम गरिने छ । विशेषगरी मतदान केन्द्र, मतपेटिका, मतपत्रको सुरक्षामा प्रहरी परिचालन गरिने भएको छ । सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्नेछन् ।
अहिले निर्वाचन आचारसंहिता उल्लंघन भए/नभएको अनुगमनमा पनि परिचालन गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी मकवानपुरका मतदान स्थल वरपरको सुरक्षाका लागि खटाइसकिएको छ । अब नेपाल प्रहरी र म्यादी प्रहरी भने मतदान अधिकृत, सहायक अधिकृत र कर्मचारीहरूसँग मतपत्र लगायतका सामग्रीहरू लिएर पठाइने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको दश स्थानीय तह मध्यमा भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, बेलाबेलामा झैझगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसोवास भएको लगायतका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यतया वर्गीकरण गरिएको छ ।
अति संवेदनशील मानिएको स्थानमा निर्वाचन विरोधि गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइएको छ । निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने भएको छ। मकवानपुरमा नेपाल प्रहरीहरू खटिराखेका कारागार, जिल्ला प्रशासन कार्यालयजस्ता ठाउँमा प्रहरीलाई नेपाली सेनाले निर्वाचन भरी पालो दिएर त्यो जनशक्ति पनि निर्वाचनमा खटाइएको छ ।
जिल्लाको १० वटै स्थानीय तहको निर्वाचन स्थलमा सेना र सशस्त्र प्रहरी बल खटाउन सुरु गरिएको छ । जिल्लाको क्षेत्र नम्बर १ को ‘क’ मा ७७ हजार ९८९ जना र ‘ख’ मा ७२ हजार १६६ मतदाता छन् । त्यस्तै क्षेत्र नम्बर २ को ‘क’ मा ८३ हजार ०९९ जना र ‘ख’ मा ६७ हजार ४७९ गरेर ३ लाख ७३३ जना मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया