राजनीति

गठबन्धनकाे भाेटले चारपटक मन्त्री भएकी भुसाललाई सहज, कार्की र खड्का पनि चुनावी मैदानमा

इकागज |
कात्तिक २४, २०७९ बिहीबार १६:४२ बजे

ललितपुर । ललितपुर ३ की माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल अहिले घरदैलोमा छिन् । ०७४ को चुनावमा वाम गठबन्धनबाट उम्मेदवार भई कांग्रेस उम्मेदवार मदन अमात्यलाई पराजित गरेकी भुसाललाई यसपटक कांग्रेसकै साथ र समर्थन छ ।

गठबन्धनको भोट संख्या निकै धेरै भएकोले भुसाल यो क्षेत्रमा सबैभन्दा सुरक्षित रहेकाे माओवादीकाे दाबी छ । तर उनकै निर्वाचन क्षेत्रमा डा‍ ताेसिमा कार्कीको उपिस्थितिले उनलाई आफ्नाे साख जाेगाउन हम्मे परेकाे छ । ऊर्जामन्त्री भुसालले आफ्नाे कार्यकालमा गरेका विभिन्न निर्णयले विवादमा परेकी छिन् । जलविद्युतमा लगानी गरेका संस्थापक शेयरधनीले १० वर्षसम्म आफ्नाे शेयर बेच्‍न नपाउने निर्णय गरेपछि उनी विवादमा परेकी हुन् । याे निर्णयबाट उनी पछि हट्नुपरेकाे थियाे । 


यसपटकको चुनावमा भुसालसँग एमाले अमृत खड्का चुनावी मैदानमा छन् । उनी सैंवु गाविसका पूर्वअध्यक्ष पनि हुन् । व्यापारिक पृष्ठभूमिका खड्का एमालेको जिल्ला कमिटीमा बसेर काम गरेका छन् । तत्कालीन सैंबु गाविस अध्यक्ष बनेपछि केही समय व्यवसाय र समाजसेवामा बिताएका खड्काको यो पहिलो उम्मेदवार अनुभव हो । उनी यसपालि मात्रै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की पेसाले चिकित्सक हुन् । उनी राजनीतिमा नयाँ हुन् । 

ललितपुर–३ को धेरै भूभाग सहरी, थोरै भूभाग ग्रामीण भेगमा पर्छ । ललितपुर महानगरपालिका– १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू पर्छन् । यहाँँ मतदाता संख्या ९४ हजार ११६ छ । 

स्थानीय तह निर्वाचनमा हेर्ने हो भने क्षेत्र ३ मा गठबन्धन नै बलियो छ । गएको स्थानीय निर्वाचनमा ललितपुर महानगरको ४, १०, १४, २०, २८ को वडा कांग्रेस विजयी भएको छ । महानगरको २१, २६ र २७ वडा माओवादी केन्द्र विजयी भएको छ भने २ र ३ वडा एकीकृत समाजवादीले हात पारेको थियो । त्यस्तै महानगरको १ र १३ मा स्वतन्त्रले जितेका थिए । ५, १५, १८, २२, २३, २४, २५, २९ मा एमालेले चुनाव जितेको छ । 
 

याे पनि

ऊर्जा मन्त्रीका १५ महिना : के गरिन्, के गरिनन् ?


Author

थप समाचार
x