मोरङमा ४ हजार १ सय अस्थायी मतदाता, दुई मतदान केन्द्र
अस्थायी मतदाता बनेका मोरङ कारागारका कैदीबन्दीहरू ।
विराटनगर - मोरङमा चार हजार बढी अस्थायी मतदाता रहेको भन्दै उनीहरूका लागि समानुपातिकतर्फको मतदान गर्न दुईवटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार निर्वाचनको बेलामा नखटिने कर्मचारी र मोरङ कारागारका कैदीबन्दी अस्थायी मतदाताका रुपमा रहेका छन् ।
कैदीबन्दीहरूका लागि मोरङ कारागारमै मतदान केन्द्र तोकिएको छ । त्यसैगरी कर्मचारीहरूका लागि आदर्श पुस्तकालयमा अस्थायी मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी लेवनकश्यप अधिकारीले जानकारी दिए ।
उनले अस्थायी मतदाताको मतदाता नामावली संकलन भइसकेको बताए । संघ, प्रदेश र स्थानीय तहमा कार्यरत रहेका कर्मचारी, सरकारको स्वामित्वमा रहेका प्रतिष्ठान, संघसंस्थाका कर्मचारीसहित सुरक्षाकर्मी र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूले समेत मतदानको अवसर प्राप्त गर्ने कानुनी व्यवस्था अनुसार निर्वाचन आयोगले अस्थायी मतदाता नामावली तयार गरेर अस्थायी मतदानस्थल राख्न ७७ वटै जिल्लामा निर्देशन गरेको थियो ।
अस्थायी मतदाताहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फमात्रै मतदान गर्न पाउने जनाइएको छ । आयोगले देशभर १ सय ४१ अस्थायी मतदान केन्द्र र कुल १ लाख ३८ हजार अस्थायी मतदाताको सूची तयार पारेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया