राजनीति

फर्जी मतदानको खतरा छ, चनाखो रहनुस् : प्रमुख निर्वाचन आयुक्त

इकागज |
कात्तिक २५, २०७९ शुक्रबार १४:३३ बजे

काठमाडौँ- निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ ।

आयोगले कानुनको व्यवस्थालाई पूर्ण रूपमा अध्ययन गरी सतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो । आयोगले कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनै पनि व्यक्ति र तत्वहरूलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो ।


शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरूले पूर्ण रूपमा पालना गर्न र गराउन निर्देशन दिए । उनले निर्वाचन बिथोल्ने गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिई निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही प्रारम्भ गर्न निर्देशन दिए ।

उनले कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरू हुने भएको भन्दै फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो हुन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिए । उनले धेरै मतदान हुनु राम्रो भए पनि हुँदै नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी र निर्वाचन प्रतिको अवज्ञा भएकाले त्यसतर्फ सतर्कता अपनाउन आग्रह गरे ।


Author

थप समाचार
x