ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्छः ओनसरी घर्ती
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताएकी छन् ।
नेतृ घर्तीले ओली प्रधानमन्त्री हुँदा दुई-दुई पटक संसद् विघटन गरेकाले जनताले त्यसको दण्ड आसन्न निर्वाचनबाट दिनुपर्ने बताएकी हुन् । उनले कम्युनिष्ट पार्टीलाई फेरि फुटाउन र दुई तिहाई बहुमतको नजिक पुगेको आफ्नै सरकारको संसद्लाई दुई पटक विघटन गरेर मृत्यु शय्यामा पुर्याउनका लागि पुनः बहुमत चाहिएको हो ? भन्दै प्रश्न गरिन् ।
पूर्वसभामुखसमेत रहेकी घर्तीले पछिल्लो समयमा एमाले अध्यक्ष ओलीको तानाशाही प्रवृत्ति र कुकर्मको आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताइन् । उनले अध्यक्ष ओलीले राष्ट्रियता एजेण्डा कुनै पनि नबोकेको दाबी गरिन् । उनले हुँदा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई मध्यरातमा बालुवाटार छिराएको आरोप पनि लगाइन् ।
सोमबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर प्रमुख गोयललाई मध्यरातमा बालुवाटार बोलाएर विभिन्न सहमति गरेको आरोप लगाउँदै मध्यरातमा सामन्त गोयललाई बोलाएर गरिएको सहमति के हो भन्दै प्रश्नसमेत गरिन् ।
उनले प्रधानमन्त्री रहँदा ओलीले पाठ्यक्रममा चुच्चे नक्सा छाप्न नदिएको आरोपसमेत लगाइन् । उनले देशको पक्षमा र राष्ट्रको हित विपरित काम गर्ने ओली कसरी देशभक्त ? भन्दै प्रश्नसमेत गरिन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधि सभा उम्मेदवारसमेत रहेकी उनले एमाले अध्यक्ष ओलीले जनतामाझ बहुमत माग्नुका कारण नरहेको जिकिरसमेत गरिन् ।
नेतृ घर्तीले राज्यको समृद्धिका लागि गठबन्धनले सहमति, सहकार्य र एकताको राजनीति गर्न जरुरी रहेको पनि बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया