राजनीति

रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

इकागज |
कात्तिक २९, २०७९ मंगलबार १९:५ बजे

फाइल तस्वीर

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेबिरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ ।

उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो । उम्मेदवार लामिछानेको बिरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । 


निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेबिरुद्धको उजुरीपछि कानूनी व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताए । उनले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने पनि बताए । 

उपन्यायाधिवक्ता वाग्लेले आचारसंहीता उल्लंघनका उजुरीमा मुलतः मतदातालाई आर्थिक प्रलोभन देखाएको, स्थानीय तहका निर्वाचित कार्यपालिकाका पदाधिकारीहरुले आफ्नो कार्यपालिका भित्र प्रचारप्रसार गरेको उजुरी धेरै आएको जानकारी दिए । त्यस्तै सरकारी कर्मचारीहरु राजनीतिक दलको प्रचारप्रसारमा सहभागी बनेको, आचारसंहिता विपरितका सामग्री प्रयोग गरेर प्रचारप्रसार गरेको उजुरीहरु पनि धेरै आएको बताए ।

आचारसंहिता लागू गरेपछि आयोगमा हालसम्म निर्वाचन आचारसंहिता उल्लंघनका १२१ वटा उजुरी परेका छन् । जसमध्ये ११ वटा उजुरी फस्र्यौट भइसकेका छन् भने ११० वटा उजुरी फस्र्यौट गर्न बाँकी रहेका छन् ।


Author

थप समाचार
x