गोरखा २ : प्रचण्डलाई चुनाव जित्न कति सहज
फाइल तस्वीर
गोरखा - प्रायः जसो निर्वाचनमा गोरखा चर्चामै रहन्छ । यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि यो जिल्ला चर्चामा छ । मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाअन्र्तगत गोरखा क्षेत्र नं २ बाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वाम–लोकतान्त्रिक गठबन्धनको साझा उमेदवारका रूपमा चुनावी मैदानमा उत्रिएसँगै गोरखा फेरि एक पटक चुनावी चर्चामा छ ।
पूर्वसहकर्मी तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले २०६४ र २०७४ को निर्वाचनमा सहजै जित निकालैको यस क्षेत्रमा उनकै प्रस्तावमा अध्यक्ष दाहाल चुनावी प्रतिस्पर्धामा छन् । विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि सो क्षेत्रबाट माओवादी उम्मेदवार विजयी भएका थिए । माओवादी केन्द्रले आफ्नो बलियो जानाधार रहेको मान्दै आएको यस क्षेत्रमा गठबन्धनको साझा उमेदवारका रूपमा अध्यक्ष दाहाल चुनावी प्रतिस्पर्धामा उत्रिँदै गर्दा उनको मुख्य प्रतिस्पर्धीका रूपमा नेकपा (एमाले) का उमेदवार अब्दुस मियाँ अगाडि आएका छन् ।
कुल एक लाख पाँच हजार २४० मतदाता रहेको उक्त क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले पालिका प्रमुखमा २३ हजार ३४६ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसले २२ हजार ८४४ र नेपाल समाजवादी पार्टीले आठ हजार ९३ मत पाएको थियो । गत निर्वाचनमा एमालेले यस क्षेत्रमा पालिका प्रमुखमा पाँच हजार २७१ मत मात्र पाएको थियो ।
स्थानीय तह निर्वाचनमा गोरखा क्षेत्र नं २ मा वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा ५४ हजार २८३ मत झरेको देखिएको छ । क्षेत्र नं २ का पालुङटार नगरपालिका, गोरखा नगरपालिका, अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रले पालिका प्रमुख जितेको छ भने सिरानचोक गाउँपालिका कांग्रेस विजयी भएको छ ।
अध्यक्ष दाहाल दुई पटक प्रधानमन्त्री भइसकेका छन् । राष्ट्रिय राजनीतिको केन्द्रमा रहँदै आएका अध्यक्ष दाहालको प्रतिस्पर्धाीका रूरुमा विपक्षी एमालेले मियाँलाई अगाडि सारेको छ । बलियो गठबन्धन र राष्ट्रिय राजनीतिमा स्थापित नेताको उम्मेदवारीले प्रतिस्पर्धी मियाँलाई छायाँमा पारेको छ । सो क्षेत्रमा मत सङ्ख्याको हिसाबले माओवादी पहिलो, कांग्रेस दोस्रो, डा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी तेस्रो र एमाले चौथो शक्तिका रूपमा रहेका छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया