राजनीति

निर्देशन अटेर गरी सामग्री नहटाए कारबाही गर्ने चेतावनी

स्थिर समयअगावै सामाजिक सञ्जालबाट निर्वाचन प्रचार सामग्री हटाउन आयोगको निर्देशन

इकागज |
कात्तिक ३०, २०७९ बुधबार २०:३० बजे

काठमाडौँ - निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरू मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ । आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरू मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिएको आयोग, नेपालका सहप्रवक्ता कमल भट्टराईले बताए ।

उनले निर्वाचन आचारसंहिता बमोजिम स्थिर समय सुरु हुनुभन्दा ४८ घण्टा अघिबाट राजनीतिक दल र उम्मेदवारहरूले कुनै पनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाउने बताए । आयोगले मंसिर १ गते राति १२ बजेबाट कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाउने उनको भनाइ छ ।


सहप्रवक्ता भट्टराईले स्थिर समय सुरु हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचारप्रसारका सामग्रीहरू सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए । उनले उम्मेदवार तथा राजनीतिक दलहरूले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचारप्रसार गरे वा प्रचारप्रसार सामग्री नहटाए निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहिता २०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाही हुने पनि बताए । 

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन सम्बन्धी प्रचारप्रसारका सामग्री हटाए÷नहटाएको अनुगमन गर्न निर्देशन दिने बताएको छ ।


Author

थप समाचार
x