राजनीति

कमल थापाको दाबी- कांग्रेस र माओवादी हेटौंडामा प्रदेश राजधानी बनाउने पक्षमा थिएनन्

इकागज |
मंसिर १, २०७९ बिहीबार ९:८ बजे

मकवानपुर - मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेको तर्फबाट उम्मेदवार रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरकाे सदमुकाम हेटौंडालाई बागमती प्रदेश राजधानी बनाउन आफूले मात्रै त्याग गरेकाे बताएका छन् । मकवानपुरगढी गाउँपालिकामा भएकाे चुनावीसभामा थापाले हेटौंडालाई राजधानी बनाउन हुँदैन भन्ने पक्षमा कांग्रेस र माओवादी रहेकाे बताए । 'त्याे बेला सत्ता पक्षधर काँग्रेस र माओवादी मन्त्रीहरू हेटौडा प्रदेश राजधानी बनाउन नहुनेमा एकमत रहेका थिए,’ उनले भने । हेटौंडालाई तत्कालीन समयमा अस्थायी राजधानीका रुपमा निर्णय गरिएको थियो । उक्त मन्त्रिपरिषदमा थापा उपप्रधानमन्त्री थिए ।

उनका अनुसार तत्कालीन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ३ नम्बर प्रदेशको राजधानी भक्तपुर बनाउनु पर्छ भनेर मन्त्रिपरिषद् बैठकमा प्रस्ताव ल्याएको थिए । थापाले भक्तपुर काठमाडौं उपत्यकाकै एक भाग भएकोले कुनै हालतमा राजधानी हेटौंडा लैजानु पर्छ भन्नेमा आफूले प्रस्ताव राखेको बताए ।


‘मैले हेटौंडालाई राजधानी बनाउनु पर्छ भन्दा क्याबिनेटमा रहेका कांग्रेस र माओवादीका मन्त्रीहरूले प्रदेशकाे केन्द्र नपर्ने कुनामा कसरी राजधानी हुन्छ भनेर मुखामुख गरे थापाले भने, ‘मैले कुनै हालतमा हेटौंडा राजधानी हुनुपर्छ भने । बिहानको मन्त्रिपरिषद् बैठकमा निर्णय हुन सकेन । अर्काे बैठकमा निर्णय गराएँ ।’

देउवाले आफूलाई एउटा कुनामा लगेर राजधानीको विषयमा तपाईंले सहयोग गर्दिन पर्‍यो भनेर भनेको थापाले बताए । कांग्रेस पार्टीभित्र विद्रोह हुन्छ मलाई सहयोग गर्दिन पर्‍यो भनेर देउवाले भनेको उनले बताए । ‘तपाईं एउटा प्रदेशको प्रमुख लिनुस् तर राजधानीको कुरा नगर्नुस् भन्नु भयो । मैले भने प्रदेशको प्रमुख चाहिँदैन् । यदि तपाईं हेटौंडा राजधानी नबनाउने भए म राजीनामा दिन्छु भनेपछि मन्त्रिपरिषद् बैठकमा उहाँले साह्रै जिद्धि गर्नु भयो हेटौंडालाई राजधानी बनाउँ भनेर भन्नुभयो ।'

उनले हेटौंडालाई आफूले राजधानी बनाएको भनेर भ्रम छरिएको उनको भनाइ थियो । हेटौंडाको कतैबाट पनि प्रस्ताव नआउँदा आफूले राजधानी बनाउने प्रस्ताव लगेकाे थापाले बताए ।

मकवानपुरको राजनीतिमा एउटा संयोग पनि मिलेको चर्चा छ । हेटौंडालाई अस्थायी राजधानी बनाउने थापा र प्रदेशसभाबाट हेटौंडालाई स्थायी राजधानी बनाउने तत्कालीन एमाले नेतृत्वको प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल एउटै मोर्चामा छन् । पौडेलले तत्कालीन नेकपाभित्र विद्रोह नै गरी हेटौंडालाई राजधानी बनाएको चर्चा अझै हुने गरेको छ ।


Author

थप समाचार
x