माओवादी केन्द्र र कांग्रेसकाे संयुक्त वक्तव्य
'कांग्रेस र माओवादीबीच फाटो गराउने उद्देश्यले सामाजिक सञ्जालमा गलत सूचना हालियाे'
काठमाडौँ- नेपालका प्रतिष्ठित अनलाइन मिडियाको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुवै पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।
नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाल र नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले संयुक्त वक्तव्य जारी गर्दै याे भ्रमपूर्ण निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध भएकाे भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिबद्ध रहेकाे जनाएकाे हाे । साथै गठबन्धनमा कोही कसैका प्रति घात हुने कल्पना समेत नगर्ने जारी संयुक्त वक्तव्यमा उल्लेख छ ।
निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ र यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न आम नागरिकमा आह्वान गरेकाे पनि वक्तव्यमा उल्लेख गरिएकाे छ ।
'यो दुराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा शेयर गर्नु निर्वाचन अपराध समेत हो । यस्तो सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रुपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कारबाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँछौं । साथै अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि समेत सरकारसँग माग गर्दछौं' वक्तव्यमा भनिएकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया