राजनीति

सुरक्षा व्यवस्था कडा पारेका छौं, ढुक्कसँग मतदान गर्नुहोस् : गृहसचिव

इकागज |
मंसिर ३, २०७९ शनिबार १९:२१ बजे

काठमाडौँ- सरकारले मंसिर ४ गते आइतबार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको बताएको छ ।

गृहमन्त्रालयले निर्वाचनका लागि देशभर आवश्यक तयारी सकिएको र सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताएको हो । शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचन सुरक्षाका लागि तैनाथ रहेको बताए ।


उनले निर्वाचनलाई कुनै पनि किसिमको अवरोध हुन नदिनका लागि सम्पूर्ण निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीहरू परिचालन गरेको जनाए । सिंहले सरकारले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन सबै सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरे ।

गृह मन्त्रालयले आज काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप जिल्लाका अति संवेदनशील मतदान केन्द्रको अवलोकन एवं निरीक्षण गरेको थियो । आइतबार (भोलि) देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ । 


Author

थप समाचार
x