राजनीति

मोरङमा मतगणना सुरु, प्रदेशसभाको मतपरिणाम पहिले आउने

इकागज |
मंसिर ५, २०७९ सोमबार १३:५९ बजे

विराटनगर - मोरङमा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको हो । ६ को प्रदेशसभा (१) को मतपेटिका चारवटा मतगणनास्थलमा लगेर खन्याइएको छ । गणनामा खटिएका कर्मचारीहरुले मतपत्र मिलाउने काम थालेका छन् ।

सुन्दरहरैंचा नगरपालिका–६ को ज्योति मावि तिनपैनी मतदान स्थलका तीनवटा मतदान केन्द्रको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले जानकारी दिए ।


मतदानको समयमा प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र एक अर्को मतपेटिकामा परेपछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना एकैपटक गर्नु परेको हो । मतगणना गर्दा पहिले प्रदेशसभा निर्वाचन क्षेत्र (१) को मतगणना गर्ने र त्यसपछि प्रदेशसभा (२) को मतगणना गरिने जनाइएको छ । 

दुवै क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक मतगणना सकिएपछि मात्रै प्रतिनिधिसभाको अन्तिम मतपरिणाम प्राप्त हुने छ । त्यसअघि नै प्रदेशसभा तर्फको परिणाम भने आइसक्ने छ ।

विराटनगर-७ स्थित आदर्श विद्यालयमा मोरङका ४, ५ र ६ को मतगणना गरिंदैछ । ४ र ५ को मतगणना पनि सुरु गर्ने तयारी रहेकाे जनाइएको छ ।

मोरङ ६ मा प्रतिनिधिसभातर्फ गठबन्धनबाट नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित बिच प्रतिष्पर्धा छ । 

मतगणना खुलेको प्रदेशसभा ६ (१) मा भने गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाँई जीवन आचार्य र एमालेकी रीता न्यौपानेबीच मुख्य प्रतिष्पर्धा हुँदैछ ।


Author

थप समाचार
x