कर्णालीमा गठबन्धन अगाडि
सुर्खेत- कर्णाली प्रदेशका १० वटामध्ये पाँच वटा जिल्लामा मतगणना जारी छ । जसमा गठबन्धनका उम्मेदवारहरूले अग्रता लिएका छन् । मतगणना भइरहेका पाँच जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये चार जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । त्यसैगरी एउटामा एमाले र अर्काे निर्वाचन क्षेत्रमा राप्रपाले अग्रता लिएका छन् ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २, दैलेख निर्वाचन क्षेत्र नम्बर २, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । त्यसैगरी नेकपा एमालेले दैलेख निर्वाचन क्षेत्र नम्बर १ ले अग्रता लिएको छ भने जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाहीले फराकिलो अग्रता कायम राखेका छन् ।
दैलेख क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फको पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । ११ हजार ४ सय ७७ गणना हुँदा कांग्रेसका दिक्पाल कुमार शाहीले ५ हजार ७ सय ९६ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलले ४ हजार ४८६ मत प्राप्त गरेका छन् । सल्यानमा प्रतिनिधिसभातर्फ गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सुरुवाती अग्रता लिएका छन् । पछिल्लो नतिजा अनुसार ज्वालाले १० हजार ६८९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्र शाहले ४ हजार ८११ मत प्राप्त गरेका छन् ।
त्यस्तै सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ कांग्रेस फराकिलो मतान्तरले अगाडि छ । २८ हजार ९ सय ६३ मत गणना गर्दा कांग्रेसका हृदयराम थानीले १४ हजार १ सय ९६ मत प्राप्त गरेका छन् भने एमालेका अमृत बिसीले १० हजार ७ सय ७४ मत प्राप्त गरेका छन् ।
जाजरकोटका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतको अग्रता कायमै छ । ५ हजार ८६४ मतगणना गर्दा बस्नेतले ३ हजार ५६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २ हजार ३८६ मत प्राप्त गरेका छन् । त्यहाँ स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ३४ मत प्राप्त गरेका छन् ।
दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ दुई पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । सुरुवाती चरणमा अग्रता लिएका एमालेका रविन्द्रराज शर्मालाई त्यसपछि नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर थापाले लिड गरेका थिए । पछिल्लो नतिजा अनुसार शर्माले ३ हजार ६ सय ८२ मत प्राप्त गर्दा समाजवादीका थापाले ३ हजार २ सय ८२ मत पाएका छन् । यस्तै नेमकिपाका प्रकाश गुरुङले ३ सय ६९ मत प्राप्त गरेका छन् । राप्रपाकी महामन्त्री कुन्ती कुमारी शाहीले ३ सय १७ मत प्राप्त गरेकी छन् ।
यस्तै जुम्लामा प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले फराकिलो मतान्तरले अग्रता कायमै राखेका छन् । पछिल्लो मत गणना अनुसार १० हजार मतगणना हुँदा प्रतिनिधि सभाका उम्मेदवार शाहीले ५ हजार ५ सय ६९ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गोमा कुँवरले २ हजार ३ सय ६० मत ल्याएर दोस्रो स्थानमा छन् । यस्तै एमालेका रतननाथ योगीले १ हजार २ सय ९६ मत प्राप्त गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया