Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

राजनीति

रवीन्द्र मिश्रले बधाई दिए प्रकाशमानलाई

इकागज |
मंसिर ६, २०७९ मंगलबार १३:५२ बजे

काठमाडौँ– काठमाडौँ–१ बाट विजयी भएका प्रकाशमान सिंहलाई रवीन्द्र मिश्रले जितका लागि सामाजिक सञ्जाल मार्फत बधाई दिएका छन् । ‘निर्वाचनमा विजयी हुनुभएका प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना अर्पण गर्दै आगामी कार्यकालमा तपाईँलाई यो समाज र देशलाई शीरमा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रेरणा र शक्ति मिलोस् भन्ने कामना गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।

मिश्र सिंहसँग १ सय २५ मतले पराजित भएका थिए । उनले थोरै मतले पराजित हुने परेको दुखी भएको पनि बताएका छन् । ‘एक सय पच्चिस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुखी छु,’ उनले लेखेका छन्, ‘तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु। गत पाँच वर्षको मेरो उतार–चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबीच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन ।’


उनले आफ्ना मतदातालाई समेत धन्यवाद दिएका छन् । काठमाडौँ–१ का मतदातालाई सहयोग गर्न २५ लाखको  सरोकार कोष खडा गर्ने समेत उनले घोषणा गरेका छन् ।

‘तर व्यापक प्रतिकूलतामाझ पनि ममाथि विश्वास गर्ने काठमाडौँ क्षेत्र नं एकका मतदाताप्रति आभार प्रकट गर्न मैले मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू २५ लाखको ‘सीड मनि (बीज पैसा)’ बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने निर्णय गरेको छु। त्यसले मलाई मनमा अलिकति भए पनि शान्ति दिनेछ,’ उनले लेखेका छन् । 


Author

थप समाचार
x