राजनीति

नौ दिन भित्र मतगणना कार्य सम्पन्न हुने निर्वाचन आयोगको अनुमान

इकागज |
मंसिर ६, २०७९ मंगलबार १५:६ बजे

काठमाडौँ- निर्वाचन आयोगले करिब नौ दिन भित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने अनुमान गरेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंगलबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै सहज ढंगले सम्पन्न भएका निर्वाचन क्षेत्रहरूको मतगणना कार्य सो समय भित्र सम्पन्न गरिसक्ने योजना रहेको बताएका हुन् । उनले बाजुरामा भने मानवीय क्षति भएकाले स्थिति सहज भएपछि त्यहाँको निर्वाचन अधिकृतसँग आवश्यक छलफल गरी मतदानको मिति तय हुने समेत स्पष्ट पारे ।​


मंसीर ४ गते देशभर एकैसाथ मतदान भएको थियो । त्यसमध्ये १५ वटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । हाल प्रतिनिधिसभाको १३८ वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको र ४ स्थानमा मतपरिणाम आइसकेको पनि आयोगका सहायक प्रवक्ता अर्यालले बताए । हाल प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना भइरहेको छ ।

मतगणना रोकिएको कतिपय स्थानहरूमा भने राजनीतिक सहमति गरेर त्यहाँको मतगणना कार्य सुरु गर्ने पनि आयोगका सहायक प्रवक्ता अर्यालले बताए ।

आयोगले सबै क्षेत्रहरूमा मतगणना सुरु भएको मितिले २ दिन भित्र मतगणना गरिसक्ने योजनाका साथ काम गरिरहेको बताएको छ । स्थगन भएका कतिपय स्थानहरूको मत परिणाम भने अझै केही समय पर्खनुपर्नेछ ।


Author

थप समाचार
x